झापा, फागुन ६ । आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।

पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ ।
बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ । शिवरात्रिमा पशुपतिनाथ मूलमन्दिरमा २० लाख दर्शनार्थीले प्रत्यक्ष दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।


पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको संख्या गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए । उनका अनुसार पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले आज ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम राखिएको छैन ।


शिवरात्रिमा पशुपति क्षेत्र पुग्ने भक्तजनलाई व्यवस्थापन गर्न झण्डै चार हजार स्वयंसेवक खटिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको छ । पशुपतिनाथमा क्षेत्रमा ३ हजार ५ सय प्रहरी परिचालन गरिएको छ ।

शिवरात्रिमा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्दिर अगाडिको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्