भद्रपुर, फागुन ६ । भद्रपुरस्थित मेची रंगशालामा भोलिदेखि सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको छ ।

भद्रपुर झापा गोल्डकप आयोजक समितिले मेची रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधारसहितको तयारी पूरा गरिएको हो ।
समितिका महासचिव जीवनकुमार श्रेष्ठले नेपाल , भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको जानकारी दिए ।
समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीका अनुसार आयोजक टिम भद्रपुर ब्लेजर्सका लागि भद्रपुरका ख्यातिप्राप्त खेलाडीसहित नेपाल तथा क्यामरुनका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने छन् ।
यस्तै नेपाल आर्मी ,नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमस्र्याङ्दीलगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागितामा रोचक प्रतिष्पर्धाका साथ प्रतियोगिता सम्पन्न हुने छ ।
महासचिव श्रेष्ठका अनुसार प्रथम पुरस्कार १३ लाख र द्वितीय पुरस्कार ७ लाख राशिको रहेको छ ।गोल्डकपलाई निरन्तरता दिन विधिवत संस्था दर्ता गरिएको छ भने भद्रपुर झापा गोल्डकपको आजीवन सदस्य बनाउँदै लगिएको छ ।
मेची रंगशाला हुने गोल्डकपको लागि खेलमैदानलाई खेल्न योग्य बनाउने काम पूरा भएको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
गोल्डकपमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइएको छ भने भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने छ ।

गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालले दिएको जानकारी अनुसार रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको छ । खेल हेर्न १५० रूपैयाँको टिकट भए पनि १४० रूपैयाँ बराबरको जुस टिकट खरिदकर्ताले पाउने छन् भने हरेक दिन २४ इन्चको टिभी, सौर्य एयरलाइन्सको काठमाण्डौ भद्रपुरका लागि ३ वटा टिकट र ५ जनाले होटलमा खाना निःशुल्क पाउने गरी लक्की ड्रको व्यवस्थासमेत गरिएको अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

खेल आयोजक समितिका अध्यक्ष ढकालको अध्यक्षता तथा सञ्चार संयोजक गोपाल गिरीको संयोजनमा सम्पन्न कार्यक्रममा गोल्डकप संरक्षण समितिका संयोजक भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, आयोजक टिमका प्रमुख प्रशिक्षक हरि खड्का, सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेललगायत खेलसम्बद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।
भौतिक पूर्वाधार भएर पनि मेची रंगशाला दुई दशकयता खेलविहीन अवस्थामा रहेको थियो । यस्तो शुन्यता हटाउन भद्रपुर नगरपालिकाले पहिलो पटक नीतिगत रूपमै बजेटमा समेटेर मेची रंगशालालाई चलायमान बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजनाका लागि वातावरण तयार पारेको थियो। मेची रंगशालामा गोल्डकपको आयोजनाले स्थानीय नागरिकमा उत्साह थपिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्