झापा , फागुन ७ । जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।

भण्डारीको अहिले मुम्बईमा उपचार भइरहेको छ । भण्डारीसँगै रहेका कांग्रेसका युवा नेता तथा व्यवसायी योगराज कँडेलका अनुसार भण्डारी अहिले खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । “मन आज यतिबेला अति नै प्रशन्न छ । आदरणीय चन्द्र दाजी खतरामुक्त हुनुहुन्छ । मन थाम्न नसके पछि केहीबेर अगाडि १० बजे आईसीयूमा पुगेर ड्युटी डा. प्रशान्त महाराणेलाई भेटी कुरा गर्दा सबै कुराहरु नर्मल रहेको जानकारी गराउनुभयो । प्रश्न गर्ने क्रममा मैले उहाँलाई सोधेँ उहाँ होसमा हुनुहुन्छ त ? क्याविन नम्बर ८ मा रहनुभएका चन्द्र दाईको क्याविनबाट तीनजना नर्सहरु निस्किए । मैले अगाडि रहेका डा. प्रशान्तले क्याविनबाट निस्कँदै गरेका नर्सलाई सोध्नुभयो बिरामी जागै हो ? उनीहरुले हो भने । डा. ले मलाई भन्नुभयो मन छ भने भेट भन्नुभयो । त्यसो भन्नासाथ नर्सले गाउन लिएर आइन् । नर्स म र डा. भित्र गयौैँ । चन्द्र दाईले मलाई दुवै आँखाले लामो समय हेरेको हेर्यै गर्नुभयो । हात उठाउन खोज्ने, टाउको उठाउन खोज्ने धेरै कुरा गर्न मन गरेजस्तो भान हुन्थ्यो । अनि डा. र अन्य नर्सलाई हेर्नुभयो । मैले दाई हजुरलाई राम्रो भइरहेको छ । हामी यहीँ छौँ भने । मलाई पनि दाइलाई हेरेपछि मन कस्तो कस्तो भयो । अनि निस्कि हालेँ । दाइ खतरामुक्त हुनुहुन्छ साथै निश्चिन्त हुन सबैमा अनुरोध छ,” कँडेलले सामाजिक सञ्जालमार्फत यसरी जानकारी गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्