झापा, फागुन ९ । भद्रपुरस्थित मेची किनारका मुआब्जा पीडितहरू फेरि आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलित बनेका मुआब्जा पीडितहरूले सोमबार दिनभर सीमा नाका ठप्प पार्दै सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

आक्रोशित बनेका आन्दोलनकारीहरूले भद्रपुर भन्सार कार्यालयको मूल ढोकामा तालाबन्दी गर्नुका साथै भन्सारमा ढाँट तेस्र्याएर ६ घण्टा सडक जाम गरेका थिए । सडक अवरुद्धका कारण नेपाल–भारत आउजाउ गर्ने सवारीसाधन सडकमै रोकिएका थिए । आन्दोलनका कारण भद्रपुर भन्सार कार्यालयको कामकाज दिनभर प्रभावित बनेको थियो ।
बिहान ११ बजेदेखि आन्दोलनमा उत्रिएका उनीहरूले सडकमै धर्ना बसेर ‘हाम्रो माग पूरा गर, जनता ढाँट्न पाइँदैन, मुआब्जा छिटो दे र सरकार तेरो पाराले दुःख पायो साराले’ भन्दै चर्को नाराबाजी गरेका थिए ।

आन्दोलनलाई साम्य बनाउन बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । आन्दोलनकारीले टायर बाल्ने क्रममा सुरक्षाकर्मीहरूसँग घम्साघम्सी समेत भएको थियो । उनीहरुले आफ्नो एक सुत्रीय माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । आन्दोलन जारी राखेका उनीहरुले बेलुका ५ बजेपछि मात्र सीमा नाका खुलाएका थिए ।
भद्रपुर भन्सारको विस्तारसँगै नयाँ भौतिक संरचना निर्माणका लागि भद्रपुर– ५ स्थित स्थानीयको ९ विगाह नम्बरी जग्गा भन्सारले अधिग्रहण गर्न लागेको छ । मुआब्जा वितरणसम्बन्धी भन्सारको सबै कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालय झापाले जमिनको मुआब्जा तथा घर टहराको क्षतिपूर्ति बापत दिनुपर्ने १०९ वटा कित्ताको रकम तोकेर गत पुस ६ गते १५ दिने सूचना निकालेको थियो ।

सूचना निकालेको डेढ महिना बित्न लाग्दा समेत सम्बन्धित निकायले जग्गाधनीहरूलाई रकम उपलब्ध नगराएपछि उनीहरू फेरि आन्दोलित बनेका हुन् । प्रशासनले स्थानीयको नम्बरी जमिन जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापामा रोक्का राखेको २८ महिनापछि मुआब्जा सम्बन्धी सूचना निकालेको हो ।

‘भन्सारले २०७७ साउन २७ गतेदेखि हामी सबैको जग्गा रोक्का राखिदियो, स्थानीय जग्गाधनी आशा पण्डितले भनिन्, ‘२८ महिनापछि बल्लतल्ल मुआब्जाको सूचना निकाल्यो, अहिले रकम छैन भनेर फेरि हामीलाई अल्झाउने काम गरिरहेको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्