एजेन्सी । न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को आवेदन खुला गरिएको छ ।

फेब्रुअरी २८ देखि प्रारम्भ गरिएको आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म तोकिएको छ । मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा शनिबारका दिन समापन समारोह हुने आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठले बताए । अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरणू भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ । मिस नेपाल नर्थ अमेरिका (एमएनएनए) ले नेपाली महिलाहरूलाई आफ्नो महत्वाकाङ्क्षा साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडेल (अनुकरणीय व्यक्ति)बन्न मञ्च प्रदान गर्दछ । आयोजक टोलीले यस कार्यक्रमलाई सफल बनाउनको लागि हरेक दिन कडा मेहनत गरिरहेको जनाएका छन् । आयोजकले थप जानकारीहरू, विजेताहरूका पुरस्कार तथा अन्य विवरणहरू क्रमसँगै जानकारी गराइने जनाएका छन् । गत वर्ष न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा प्रतियुशा बोहरा विजेता बनेकी थिइन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी थिइन् । मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वारा कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियङ्का रानी जोशीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्