झापा, फागुन १७ । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ ।

उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेसले पनि समर्थन फिर्ता लिएको उनको भनाइ छ । उनले समर्थन फिर्ता लिए पनि मतदान कोशी प्रदेशमा नै गर्ने बताए ।

कोशी प्रदेश नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र बिदुरकुमार लिङ्थेप समर्थक रहेका छन् ।
माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्नैपर्ने अवस्था भएकाले कोशी प्रदेशमा नै मतदान गर्ने निर्णय भएको बताए ।
प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुई वटा प्रस्ताव सदनमा पेस हुने भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्