भद्रपुर, फागुन १७ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा राजनैतिक दल र आम जनसमुदायलाई प्रविधिको प्रयोगमार्फत सहयोग गर्न अपिल गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाद्वारा राजनीतिक दल र पालिकाका फोकल पर्सनहरुका लागि जिल्ला प्रशासन कार्यालयमा आज आयोजित अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पोखरेलले नागरिक बैधताका लागि मतदाता आफैले अनलाईनमार्फत नाम समावेश गर्ने, सच्याउने र दावी बिरोध गर्नसक्ने सफ्टवेयर निर्वाचन आयोगले प्रयोगमा ल्याएको जानकारी दिए ।

समापन समारोहलाई सबै राजनैतिक दलका तर्फबाट सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रविधिसंगै पार्टीका गतिविधिहरु परिचालित हुन र गर्न नसके जनतासंगको सम्बन्ध र सम्पर्क विस्तारमा कठिनाई उत्पन्न हुनसक्ने भनाई राखे ।

अनलाईनमार्फत घरमै बसेर मतदाता नामावलीमा नाम दर्ता गर्ने, विवरण सच्याउने, दावीबिरोध दर्ता गराउने कार्यमा झापाका सबै राजनीतिक दलहरु प्रतिवद्ध रहेको सचिव हुमागाईले बताए ।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले सहजीकरण गरेको सो कार्यक्रममा नेकपा एमालेका कार्यालय सचिव छविलाल बिक, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्नि, राप्रपाका अध्यक्ष केशव ओझा, लोसपाका अध्यक्ष अनुत राजवंशी, सहायक प्रमुख जिल्ला रुद्र न्यौपानेलगायत सुरक्षा निकाय, राजनैतिक संघसंगठनका प्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्