झापा, फागुन २० । एक महिनाभन्दा बढी समयदेखि बेपत्ता भएका झापा अर्जुनधाराका व्यवसायी टीकाप्रसाद मैनाली अझै भेटिएका छैनन् ।

बिर्तामोड–५ स्थित शनिश्चरे रोडको गरुवा स्टेण्डनजिकै मोबाइल फोनको पाट्र्सको होलसेल र झापाकै गोलधापमा निर्जला एग्रो भेट्स कृषि फर्म सञ्चालन गर्दै आएका अर्जुनधारा–६ का ३८ वर्षीय मैनाली गत माघ १५ गतेदेखि बेपत्ता भएका हुन् ।

प्रहरीमा निवेदन दिएपछि खोजी शुरु गर्दा पनि अहिलेसम्म उनको अत्तोपत्तो नलागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । साझेदारीमा व्यवसाय गर्दै आएका मैनालीले व्यवहारका कारण घर छोडेको हुनसक्ने आशंका गरिएको छ । उनको बैंक इस्टेटमेन्ट निकाल्ने काम भएको बताउँदै डीएसपी कार्कीले अहिलेसम्म मैनालीको कुनै सुराक फेला नपरेको जानकारी दिए । परिवारका सदस्यलाई जानकारी नै नदिई माघ १५ गते दिउँसो १२ः३० बजेबाट मोबाइल पसलबाट निस्किएका मैनाली घर नफर्किएको परिवारले जनाएको छ । उनले राति ८ः३० मा वार्टसएपमार्फत छोरालाई सम्पर्क गरेर आफू बजारतिर रहेको र घर आउने बताएको भएपनि नफर्किएको मैनालीकी श्रीमती बालकुमारीले बताएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्