इलाम, फागुन २१।इलामको रोङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्रले गाउँपालिकाका १० जना शहीदको परिवारलाई सम्मान गरेको छ ।

माओवादीको शहीद सप्ताहअन्तर्गत आइतवार रोङ गाउँपालिका ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रममा शहीदको योगदानको स्मरण गर्दै शहिद परिवारलाई सम्मान गरिएको हो । माओवादी केन्द्र रोङका अध्यक्ष देवकुमार राईको सभापतित्वमा भएको एक संक्षिप्त कार्यक्रममा शहीद परिवारलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा शहीदहरु जीवन प्रधान, लिला तिम्सिना, फौदसिंह लिम्बू, किसान राई, सुरेन्द्र राई, प्रमिला राई पूर्ण गुुरुङ, चेतन भट्टराई, धनबहादुर मगर र हरि दाहालको परिवारका सदस्यहरु रहेका छन् । शहीद परिवारका सदस्यहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । दश बर्षे जनयुद्ध कालमा राज्य पक्षबाट मारिएकाहरुको सम्झनामा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री चापागाईले १० बर्षे जनयुद्धको फलस्वरुप अहिले देशमा ३ तहको सरकार बनेको भएपनि जनताको मनबाट माओवादी पाटी हट्न थालेको दुखेसो सुनाए । जनयुद्ध र शहिदको सम्मानमा उपयुक्त स्थानमा शहिद पार्क बनाउन आगामी बर्ष बजेट र कार्यक्रम पार्ने उनले बताए ।

कार्यक्रममा माओवादी रोङका इन्चार्ज घनश्याम थापा, भक्तबहादुर खवासलगायतले पार्टीको वर्तमान अवस्था र चुनौतीको बारेमा आ–आफना धारणा राखेका थिए । कार्यक्रम माओवादी रोङका सचिव इन्द्रबहादुर राईको सञ्चालनमा भएको थियो ।

यता कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले शहीदलाई सम्मान गरेको छ ।
शहीद सप्ताहको अवसरमा शनिवार झापाको बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा ‘शहीद सम्मान कार्यक्रम’को आयोजना गरी जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने शहीदहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शहीद परिवारका सदस्यलाई सम्मान–पत्र प्रदान गरेका थिए ।

मन्त्री मोदीले झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा र सप्तरीको आधा भूभाग मिलाएर कोचिला राज्य घोषणा गर्नुपर्नेमा जोड दिए । उनले कोचिला समुदायलाई यस मुद्दामा एक भएर अगाडि बढ्न आग्रहसमेत गरे ।

कार्यक्रममा शहीद तथा बेपत्ता चतुरमान राजवंशी, शहीद शम्भू राजवंशी, सुनिल राजवंशी, टोपलाल राजवंशी, टिकाराम मेचे, चैतलाल मेचे, झरीलाल राजवंशी, होलाई राजवंशी, टेकबहादुर राजवंशी, हसिलाल राजवंशी, मिस्रि धिमाललगायतका परिवारलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री मोदी, कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालकी केन्द्रीय अध्यक्ष ममता राजवंशी ताजपुरियालगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।सोही कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा विजयी कोचिला मोर्चामा आबद्ध भद्रपुर नगरपालिका–४ का वडाध्यक्ष हंशधर राजवंशी, हल्दिबारी–२ का वडाध्यक्ष सुकलाल राजवंशी, गौरीगञ्ज–२ का वडाध्यक्ष किनालाल राजबंशी र गौरादह–८ का वडाध्यक्ष गणेश राजवंशीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशी, लक्ष्मी न्यौपाने, राजु चुडाल, राजु आचार्य (अग्नि), मोहन टुडूलगायतको आतिथ्य रहेको थियो ।
मोर्चाका सचिव कृतिकुमार राजवंशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत पुकारचन्द्र राजवंशी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्