झापा, फागुन २२। रोटरी क्लब अफ बिर्तामोडको पहलमा खरिद गरिएको हेमो डायलासिस मेसिन सोमबार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

रोटरियनहरूको मानवीय सहयोगमा खरिद गरिएको ६ वटा हेमो डायलासिस मेसिन बिर्तामोड नगर अस्पतालले प्राप्त गरेको हो । डायलासिस मेसिनका साथै डायलासिस गर्ने कक्षमा चाहिने सबै उपकरण रोटरीले खरिद गरेर प्रदान गरेको हो ।सोमबार एक कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले डायलासिस कक्षको उद्घाटन गरिन् । ती उपकरणहरू प्राप्त गरेसंगै मिर्गौला रोगीहरूले डायलासिस गर्न अन्यत्र जानु नपर्ने बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईंले बताइन् ।

डायलासिस कक्षमा चाहिने सबै उपकरण तथा तालिम आयोजनाका लागि रोटरीले करिब ८० लाख रुपैयाँ खर्चेको हो । यी सबै सहयोग रोटरी क्लब अफ बिर्तामोड तथा रोटरी क्लब अफ मापुसा गोवा भारतको संयुक्त पहलमा रोटरी फाउण्डेसनले उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिए । उनले यस्ता मानवीय सेवामा रोटरीले अझ खुल्ला ह्रदयले सहयोग गर्ने बताए ।

उनले सहयोगबाट प्राप्त सबै उपकरण तथा डायलासिस कक्षको रेखदेखका लागि डा. लक्ष्मीप्रसाद मैनालीको नेतृत्वमा गरिने जानकारी दिए । बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुव शिवाकोटीको कार्यकालमा उपकरण खरिदका लागि नगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ रोटरीलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्