बिर्तामोड,फागुन २४ । बिर्तामोड ४ की पूर्णवती राजवंशीले छोरासरह केश मुण्डन गरेर श्रद्धापूर्वक आफ्ना पिताको काजक्रिया सम्पन्न गरेकी छन् ।

छोरा नभए भाइ भतिजाले काजक्रिया गर्ने परम्परा रहेको राजवंशी जातिमा उनी आफ्नो बुवाको कोरामा बसेकी थिइन् ।बिर्तामोड ४ मेघावारी टोल निवासी चन्द्रबहादुर राजवंशीको निधनपछि उनकी जेठी छोरी पूर्णवती राजवंशीले आफ्नो बुवाको आज कन्काई माईमा गएर काजक्रिया गरेकी हुन् । चन्द्रबहादुरको फागुन १४ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रबहादुरका छोरा छैनन् । चारजना छोरी मात्र छन् । जेठी छोरी पूर्णवती , माइली रीना , साइली रिता र कान्छी प्रमिलामध्ये जेठी पूर्णवतीले बाबुको कर्मकाण्ड गरेकी हुन् ।

बाबुआमाप्रति छोरासरह छोरीहरुको पनि माया , श्रद्धा र दायित्व हुने भएकाले आफूले काजक्रिया गरिरहेको पूर्णवतीले बताइन् । पहाडे मूलका जातिमा छोरा , बुहारी र छोरी सबैले कोरा बस्ने परम्परा छ । तर, राजवंशी जातिमा छोरीहरुलाई त्यो अधिकार दिइएको छैन । छोरा हुने बाबुआमाको छोराले र छोरा नहुने बाबुआमाको भाइ भतिजा र अन्य बंशले काजक्रिया गर्ने चलन परम्परादेखि चल्दै आएको छ । आफूहरुले पनि अन्य जातिसरह बाबुआमाको काजक्रिया गर्न पाउनु पर्छ भन्ने जातीय मान्यता विकास गर्न कोरामा बसेको उनले बताइन् । पूर्णवतीकी आमा सनावती राजवंशीले धेरै वर्षअघि राजगढमा राजवंशी जातिमा एकजना छोरीले बाबुको काजक्रिया गर्दा उनलाई गाउँसमाजले अप्ठ्यारोमा पारेको घटना सुनाइन् ।