झापा, फागुन २७ । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।
बैठकमा सहभागी जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको बताए ।
शनिबार बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो–आफ्नो दाबी गर्दा बैठकले एकल उम्मेदवार उठाउन नसकेको हो । उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने अध्यक्ष चन्द्रकान्त(सीके) राउतले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने अझै पनि उम्मेदवारी फिर्ता गराएर सहमतिको प्रयास हुने बताएका छन् । सत्ता गठबन्धनमा यसअघि नै उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । तर गठबन्धनबाटै जनमतले पनि दाबी नछाडेपछि समस्या उत्पन्न भएको हो ।

जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाउने भएको हो । जसपा नेता प्रदीप यादव पनि आइतबारसम्म सहमतिको प्रयास हुने बताउँछन् । गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पाउने सहमति भएकाले जसपाको मात्र एकल उम्मेदवार हुने सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्