झापा, चैत २ । संगै जिउने संगै मर्ने भनी एकअर्कामा कसम खाएर प्रेम विवाह गरेको ६ महिनामै श्रीमान्को छुरा प्रहारबाट सख्त घाईते बनेकी कनकाई ३ कालिस्थानकी ३८ बर्षिया विना लिम्बू उपचार अभावमा मृत्युसंग पैठेजोरी खेल्दैछिन् ।

गत भदौमा मात्रै उनले कनकाई नगरपालिका ३ भीमसेनस्थानमा डेरा गरी बस्ने पदमबहादुर कुमालसंग प्रेम विवाह गरेकी थिइन् । विनाले विवाह गर्दा श्रीमान्संगै जिउने कल्पना गरेकी थिइन् । तर,विवाहको खुशी भने लामो समय टिकेन । विवाह गरेको केहि महिनाभित्रै श्रीमान्ले मादक पदार्थ खाएर विनासंग दिनहुँ झैझगडा गर्ने र कुटपिट गर्ने गरेको स्थानीय मेघराज पाठकले बताए ।
बेलाखखतमा झगडा हुँदा गाउँले र विनाका दाजु सोमबहादुर लिम्बूले आएर सम्झाई बुझाई मिलाएर राख्ने गरेका थिए । पछिल्लो पटक गत फागुन २४ गते बुधवारका दिन पदमबहादुरले श्रीमती विनाको पेटमा छुरा र टाउकोमा फलामको घनले हानेर सख्त घाईते बनाए ।

श्रीमतीलाई घाइते बनाउने पदमबहादुर प्रहरीले आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ भने उपचार अभावमा विना मृत्युसंग पैठेजोरी खेल्दै आएकी छन् । कनकाई नगरपालिका २ सुकेडाँगीमा डेरा गरि बसेको कुमाल परिवारले जनमन गर्दै आएको थियो । हतियार प्रहार गर्ने पदमबहादुरलाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ घाईते विनालाई स्थानीय गाउँले र घाईतेका दाजु भाउजुले चन्दा संकलन गरेर केहि दिन झापा र धरानको घोपामा लगेर उपचार गराएका थिए । थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर राख्नुपरिरहेको घाईतेका भाउजु निर्मला लिम्बूले बताइन् । आफूहरु पनि जनमन गरेर परिवार पाल्दै आएको र गाउँघरमा उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताए ।

उपचार अभावमा घाईतेको अवस्था दिनानुदिन नाजुक बनिरहेको स्थानीयको भनाई छ । पीडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिनका लागि सबै सहयोगी मनहरुमा अनुरोध गरेका छन् । यसवारेमा केहि बुझ्न परेमा विनाका दाजु सोमबहादुर लिम्बूको फोन नम्बर ९८१५०५२०४५ मा फोन गर्न वा यस विना बचाऊ अभियानको नेतृत्व गरिरहेका स्थानीय युवा मेघराज पाठकको नाममा रहेको सनराईज बैँक लिमिटेड सुरुङ्गा झापाको खाता नम्बर ०३८१०१०६१७२०१६ मा रकम जम्मा गरिदिन सबैसंग अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्