झापा, चैत २ । हिजो साँझ चट्याङले लागेर पाँचथर र धनकुटामा चारजना घाइते भएका छन् ।

पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा चट्याङ लाग्दा दुई जना घाइते भएका हुन् । हिजो साँझ भएको घटनामा २४ वर्षीय नेत्रकुमारी मगर र बुधमाया मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए । उनका अनुसार नेत्रकुमारीको अवस्था जटिल छ ।
स्थानीय कृष्णजीत मगरको गाइगोठमा चट्याङ परेको थियो । चट्याङको छर्रा लाग्दा नजिकै रहेका नेत्रकुमारी र बुधमाया घाइते भएका हुन् । नेत्रकुमारी इन्द्रजीतकी छोरी हुन् भने बुधमाया बुहारी हुन् ।
चट्याङ लाग्दा गोठमा बाँधेको गाई र तुम्बेवा–१ का छबिन्द्र पाण्डेका दुईवटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि धरान पठाइएको छ ।
त्यस्तै धनकुटामा हावाहुरीसँगै चट्याङ पर्दा दुई जना घाइते भएका छन् । चार पशुपंछी मरेका छन् ।
चौबिसे गाउँपालिका–१ पोखरीमा अपराह्न साढे ४ बजे चट्याङ पर्दा स्थानीय ३२ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका छन् । यस्तै, धनकुटा नगरपालिका–१० पात्लेकी ५० वर्षीया तारा कार्की घाइते भएको प्रहरीले जनाएको छ । वस्तुलाई वर्षात्बाट जोगाउन त्रिपाल ओढाउने क्रममा चट्याङ पर्दा श्रेष्ठ घाइते भएका हुन् । घटनामा उनको गोठमा बाँधिएका दुई वटा गाईवस्तु मरेका छन् ।

चट्याङबाट श्रेष्ठले लगाएको कपडा जलेको छ भने बायाँ हात जलेको प्रहरीको भनाइ छ । स्थानीय मेडिकलमा उपचारपछि उनी घर फर्किएका छन् । यस्तै घरमै बसिरहेको बेला चट्याङ पर्दा कार्की सामान्य घाइते भएकी हुन् । उनको जिल्ला अस्पतालमा उपचार गरिएको छ । दुवै घटनामा गरी १ लाख ९० हजार बराबरको क्षति पुगेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्