झापा , चैत्र ३ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निणर्य गरेको थियो ।

टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता पाएका ७ राष्ट्रबीचको आइसिसी विश्वकप लिग-२ र एसोसिएट देशको च्यालेन्ज लिग गरी तीन लिग सञ्चालन भयो। तीन मध्ये लिग-२ र च्यालेन्ज लिग सकिएका छन् भने सुपर लिगको केही खेल बाँकी छन् । तीनै लिग एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता पनि थियो। १० टिमबीच प्रतिस्पर्धा हुने विश्वकपमा सुपर लिगका शीर्ष आठ (आयोजक भारतसहित) सिधैं पुग्ने प्रावधान छ । बाँकी २ स्थानका लागि भने छनोट प्रतियोगिता खेल्नु पर्ने आइसिसीको नियम छ ।

छनोट प्रतियोगितामा सुपर लिगका पुछारका पाँच टिम, लिग-२ का शीर्ष तीन टिम र क्वालिफायर प्लेअफका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुने तय छ । नेपालले लिग-२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा स्थान बनाएको छ । अन्तिम १२ खेल बाँकी रहदासम्म नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा थियो । तर पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो । अब नेपालले जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । त्यहाँ नेपालसहित स्कटल्यान्ड र ओमान गरी लिग-२ का तीन टिम पुगेका छन् । टेस्ट राष्ट्र जिम्बावेले पनि छनोट खेल्नु पर्नेछ । सुपर लिगको पुछारमा रहेको नेदरल्यान्ड्सले पनि छनोट खेल्दैछ । अहिलेको सुपर लिगको अंक तालिकाअनुसार दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डले पनि विश्वकप छनोट खेल्नु पर्ने अवस्था छ । यद्यपी तीन टिमले बाँकी रहेका आफ्ना खेल जिते सुपर लिगको आठौं स्थानमा रहेको वेस्ट इन्डिजलाई पछि पार्न सक्नेछन्।

विश्वकप छनोट- २०२३
– टिम १ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)
– टिम २ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)
– टिम ३ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)
– नेदरल्यान्ड्स – सुपर लिगको पुछारको पाँच मध्ये एक
– जिम्बावे – सुपर लिगको पुछारको पाँच मध्ये एक
– स्कटल्यान्ड – लिग-२ को विजेता
– ओमान – लिग-२ को उपविजेता
– नेपाल- लिग-२ को तेस्रो टिम
– टिम ९- क्वालिफायर प्लेअफको शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)
– टिम १० – क्वालिफायर प्लेअफ शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)

सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने
विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्