झापा, चैत ४ । हिजो साँझ हल्दीबारी गाउँपालिका वडा नं १ गोलधापमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

साँझ ७.२५ बजेको समयमा गोलधाप बस्ने निर्मला आचार्यको एकतले काठ र जस्ता पाताले बनेको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरछेउमा बाँधेको २ वटा खसी, १ वटा बाख्रा जलेर मरेका छन् । त्यस्तै ३ वटा बाख्रा र एउटा गाई जलेर घाईते भएका छन् । त्यस्तै घरछेउमा रहेको परालको कुन्यु पुरै जलेर नष्ट भएको छ । सो आगलागी प्रहरी चौकी गोलधापका प्रहरी,भद्रपुर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा राति ८.१५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

उनले आगलागीबाट घर ७ लाख ५० हजार,अन्न १ लाख ३० हजार,सुन ४ तोलाको ४ लाख,चाँदी १० तोलाको १२ हजार ,खसीबाख्रा ५५ हजार,लत्ताकपडा ६० हजार,भाँडाकुडा ६० हजार,नगद १ लाख ५० हजार र अन्य सरसामान १ लाख गरी १७ लाख १७ हजारबराबरको क्षति भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्