झापा, चैत ५ । नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायलाई आदिवासी जातिको रूपमा परिभाषित गर्न माग गरेको छ ।

इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणापत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दशनामी सन्यासी समुदायलाई राष्ट्रिय समावेशी आयोगमार्फत थर सूचीकरण गर्न माग गरेको हो । यस्तै दशनामी जातिसँग सम्बन्धित पुरानो मौलिक परम्परा, गढी किल्ला, ऐतिहासिक स्थल, समाधिस्थल, मठमन्दिर, गुफा, संस्कृति, परम्परा, पुराना दस्तावेज, शिलालेख, भाषा तथा धार्मिक पुरातात्विक महत्वका स्थलहरू आदिको व्यवस्थित रूपमा संरक्षण गर्न आवश्यक बजेट व्यवस्थाका लागि तीनै तहका सरकारलाई घोषणापत्रमार्फत समाजले ध्यानाकर्षण गराएको छ ।

घोषणापत्रमा भनिएको छ,‘ नेपालको विद्यमान कानुनले आदिवासीको ठोस परिभाषा नगरेको हुँदा आदिम युगदेखि यस धर्तीमा बसोबास रही आएको खस आर्य तथा यस अन्तर्गतको दश नामी सन्यासी समुदायलाई आदिवासी जातिको रूपमा परिभाषित गर्न आवश्यक छ । ’
घोषणापत्रमा दशनामी सन्यासी जातिको मौलिक संस्कार संस्कृतिको थप अध्ययन अनुसन्धान गरी संरक्षण संवद्र्धन गर्दै संस्कारगत एकरूपता कायम गर्न समाजका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने उल्लेख छ ।
नौ बँुदे घोषणापत्रमा दशनामी अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधि अनुरूप कोष सञ्चालन गर्ने, कृषि क्षेत्रमा रहेका यस समुदायका मानिसहरूको जीवनस्तर उकास्न आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख छ । यसैगरी दशनामीहरुको समग्र पारिवारिक लगत र तथ्याङ्क सङ्कलन गर्न आवश्यक देखिएकोले तथ्याङ्क सङ्कलन कार्य तथा सांगठानिक कार्यलाई तीव्रता दिन डिजिटलाइज प्रविधिद्वारा व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

महाधिवेशनले गोविन्दविक्रम गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा तारा गिरी, केन्द्रीय उपाध्यक्षहरूमा तेजबहादुर पुरी कोशी, सुरेश गिरी मधेस, तुलसी गिरी, गण्डकी, गोपाल गिरी लुम्बिनी, पार्वतीकुमारी गिरी कर्णाली, हिमालय गिरी सुदूरपश्चिम चयन भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा रितु गिरी, खुल्ला उपाध्यक्षमा हिमाल गिरी, सरस्वती गिरी, सुरेन्द्रबहादुर गिरी ,सचिवमा सन्तोष गिरी, जगतबहादुर गिरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा भक्तबहादुर पुरी निर्वाचित भएका छन् भने महासचिव पछि मनोनित गरिने अध्यक्ष गोविन्दविक्रम गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्