झापा , चैत्र ७ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ ।

गएराति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ ।” तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए । सामान्य हिमपात भएकाले पूजापाठ गर्ने क्रम चलिरहेको छ । अहिले करिब एक हजार पाँच सय भक्तजनले पूजापाठ गरिरहेको समितिले जनाएको छ । उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको घुन्सा, फले वडा-७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्साका टाँसी छिरिङ शेर्पाका अनुसार करिब डेढ फिटसम्म हिउँ परेको छ । यस्तै ओलाङ्चुङगोलामा पनि हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । ओलाङ्चुङगोलाकै याङ्मामा भने दुई फिटसम्म हिउँ परेको जनाइएको छ । चार हजार दुई सय मिटर उचाइ रहेको याङ् जिल्लाकै उच्च बस्ती हो । यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे मिल्के जलजले क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका-५ पापुङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे गाउँको उच्च भागमा पनि हिमपात भएको स्थानीयले बताएका छन् । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक गत फागुन १५ गते हिमपात भएको थियो । गत वर्ष भने पुसको दोस्रो सातादेखि नै हिमपात हुन सुरु भएको थियो । यस वर्ष विगतका तुलनामा खासै हिमपात भएको छैन । यस वर्षको हिउँद मौसम बित्न लाग्दा हिमपात र वर्षा भएपछि किसान भने हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहतको महसुस गरेका हुन् । त्यस्तै नगदे बाली अलैँची, तरकारीलगायतका बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्