झापा, चैत ८ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला आउँदा सुरक्षाकर्मीको संख्या दोब्बर पारियो ।

उनी दुईवटा कार्यक्रममा भाग लिन बुधवार झापा आएका थिए । प्रदेशको नामकरणप्रति आपत्ति जनाउँदै आन्दोलन गर्दै आएका असन्तुष्ट समूहले विभिन्न उच्छृंखल गतिविधि गर्दै आएपछि सुरक्षा निकायले भीआईपीहरुको सुरक्षा दोब्बर पारेको हो । जिल्लामा आउने भीआइपीहरुको सुरक्षाका लागि सुरक्षाकर्मी सतप्रतिशत बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । सुरक्षा निकायले सभामुख , मन्त्रीदेखि लिएर सांसदका लागि समेत सुरक्षाको प्रवन्ध मिलाएको उनले बताए । ‘भीआइपीहरुको प्रोटोकल अनुसार सुरक्षाकर्मीको व्यवस्था मिलाएका छौं’ उनको भनाई छ । बुधवार सभामुख घिमिरेसंगै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि झापा आएका थिए । सभामुख घिमिरे पाउ पाथिभरा मन्दिरमा पुराण र बिर्तामोडमा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्न आएका थिए भने नेता खनाल इलामको श्रीअन्तुमा कार्यकर्ता प्रशिक्षणका लागि भद्रपुर विमानस्थलमा उत्रिएर त्यसतर्फ गएका छन् । भीआइपीहरुको सुरक्षाका लागि डीएसपी वा इन्स्पेक्टरको कमाण्डमा प्रहरी परिचालन गर्ने गरिएको रिजालले जानकारी दिए ।

सोमवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा उनीहरुले तोडफोडको प्रयास गरेका थिए । आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका थिए । कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए । त्यस्तै मंगलवार नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको थियो । आन्दोलनकारीहरुले बुधवार आङ्वोको झापाको केर्खास्थित घरमा कालो झन्डा गाडेका थिए ।

ती घटनालाई लिएर झापा प्रहरीले सुरक्षा सतर्कता बढाएको डीएसपी रिजालले बताए । शुक्रवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीआइपीहरुको सुरक्षा प्रवन्ध दुरुस्त पार्ने निर्णय गरेको थियो । त्यसो त नेताहरु पनि आन्दोलनकारीप्रति सजग भएका छन् । सभामुख गृहजिल्ला आउँदा सुरक्षा अबस्था बुझेर मात्र आएका थिए । सभामुख आउनुभन्दा अगाडि आफूहरुले जिल्लाको सुरक्षा अबस्थाबारे प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसंग जानकारी लिएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले बताए ।

यसैबीच आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले नेता , मन्त्री र सांसदहरुलाई ढुंगा हान्ने आफूहरुको कार्यक्रम नरहेको बताएका छन् । चैत ५ गते विराटनगरमा घेराउ गरिसकेपछि महासंघ नेतृत्वको आन्दोलन सकिएको उनले बताए । ‘झापामा त्यस्तो अराजक क्रियाकलाप हामी गर्दैनौं’ उनले भने,‘हाम्रो आन्दोलन समाप्त भइसकेको छ अब उप्रान्त कसले के गर्छ हामी त्यसको जिम्मेवारी लिदैनौं ।’
कोशी प्रदेश नामकरणको विरोध गर्दै झापामा पनि आदिवासी जनजाति महासंघको अगुवाईमा प्रदेश नं १ पुनः नामांकन संघर्ष समिति गठन गरी विभिन्न जाति समूहले आन्दोलन गर्दै आएका थिए ।

यसैबीच पहिचानवादी संघर्ष समितिले पछिल्लो पटक आन्दोलनको खाका तयार पारेको छ । बिराटनगरमा भएको निषेधाज्ञालाई तोडी गरिएको बिरोध सभाको समीक्षा गर्दै आगामी आन्दोलनका लागि गाउँ जागरण अभियानअन्तर्गत अगाडि बढ्ने भएको बताइएको छ ।
संघर्ष समितिका अनुसार कम्तीमा १५ दिन पहिचानका विषयमा अवगत गराइने छ । त्यस्तै चैत्र १० गते ताप्लेजुङ, ११ गते पाँचथर, १३ गते झापा, १५ र १६ गते सुनसरीमा विभिन्न कार्यक्रम गर्ने भएका छन् ।
इटहरीमा भएको छलफलले १४ वटै जिल्लामा जिल्ला सभा, क्षेत्रीय सभा र काठमाण्डौमा जुलुससहित मोटरसाइकल र्याली गर्ने भएका छन् ।
संघर्ष समितिले विभिन्न राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति लगायतसँग समन्वय र छलफल गर्ने छन् भने कोशी प्रदेश नाम लेखिएको लेटरप्याड नबनाउन र बनाएको भए मेट्न अनुरोध गर्ने भएका छन् ।
यसरी नै सरकारी कार्यालयमा तालाबन्दी, कालो झण्डा र ८२ जना सांसदप्रति प्रतिकार गर्ने भएका छन् ।
कोशी खारेजी सम्बन्धी जनचेतनामूलक साहित्य र सांस्कृतिक कार्यक्रम अभियान, कोशी खारेजी संवाद एवम् मिडिया अभियान र प्रदेश सभा घेराउ, अवरोध, अनिश्चितकालिन आमहड्ताल जस्ता कार्यक्रमहरु लिएर अगाडि जाने भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्