झापा, चैत ९ । कोशी प्रदेशका कामदार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिइने भएको छ ।

प्रदेशभरका कामदार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिने नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी भएको हो । समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र युनिकम नेपालका तर्फबाट गजेन्द्रबहादुर पौडेलले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा कोशी प्रदेशका उद्योग र व्यपार क्षेत्रमा काम गर्ने सम्पूर्ण मजदुर कर्मचारीलाई रोजगारसम्बन्धी स्थापित हुने फोटोसहितको परिचयपत्र एवं नियुक्तिपत्र अनिवार्य गरिने, साप्ताहिक बिदा, सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउने, व्यवसायीको दायित्व र कर्तव्य दुवै हुने, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति, भविष्यमा आउनसक्ने विभिन्न प्रकारका महामारी वा प्रकोपमा रोजगारदाता तथा कामदार कर्मचारीको सुरक्षाका लागि दुवै पक्ष मिलेर कार्य गर्ने, नेपालको संविधान, २०७२, श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन, २०४९ अनुसार श्रमिकको संगठित हुन पाउने अधिकारलाई कुण्ठित नगर्ने नगराउने कार्यमा प्रतिबद्ध रहने उल्लेख छ ।

संवाद समूह झापाको संयोजनमा स्थानीय तह र सरोकार राख्ने सरकारी निकायका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायको रोहवरमा दुवै पक्षको परस्पर हितका लागि समझदारी भएको जनाइएको छ । श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख दुर्गाराज आचार्य, श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख खगेन्द्र सुवेदी र युएनआई ग्लोबल युनियन एसिया प्रशान्त संगठन तथा कार्यक्रम संयोजक तिलकजंग खड्काको रोहवरमा हस्ताक्षर भएको सहमतिपत्रमा कुनै कामदार तथा कर्मचारीले आफू कार्यरत प्रतिष्ठान वा पसलमा काम छोड्दा नगद, जिन्सी, हरहिसाब अनिवार्य फरफारक गरेर मात्रै दुवै पक्षले छाड्ने छोडाउने र त्यसो नगरिए कानुनबमोजिम कारबाही अघि बढाउने उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्