झापा , चैत्र ९ । विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ भने निर्यात ओरालो लागेको छ ।

फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ । सरकारले पुस १ गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैंकले अनिवार्य नगद मार्जिन हटाएको थियो। जसको परिणाम देखिन थालेको हो। भन्सार विभागको तथ्यांकअनुसार फागुनको वस्तु आयात भदौयताकै सबैभन्दा बढी हो । चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भने दोस्रो उच्च हो । यसअघि भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड मूल्यको सामान भित्रिएको थियो । विभागका अनुसार माघभन्दा फागुनमा १३ अर्ब बढीको वस्तु विदेशबाट आएको हो । सरकारले गत वैशाखमा विलासिताका वस्तु भित्राउन रोक लगाएपछि चालू आ.व.को पहिलो महिनादेखि असर देखिन थालेको थियो । दसैं-तिहारमा उपभोग बढ्ने भएकाले भदौमा केही बढी मूल्यको भित्रिएको थियो। त्यसयता आयातमा लागेको अंकुश सरकारले पुस १ देखि लागू हुने गरी खोलेको थियो । राष्ट्र बैंकले आयातमा प्रवाह हुने कर्जामा अनिवार्य नगद मार्जिन माघ ५ गते हटाएको थियो । त्यससँगै फागुनदेखि पूर्ववत् तरिकामा पुगेपछि आयातको परिमाण अकासिएको हो । विभागको तथ्यांकअनुसार असोजमा १ खर्ब २७ अर्ब, कात्तिकमा १ खर्ब ३१ अर्ब, मंसिरमा १ खर्ब ३२ अर्ब, पुसमा १ खर्ब २७ अर्ब र माघमा १ खर्ब २६ अर्बको आयात भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्