बिर्तामोड, चैत १० । बिर्तामोड नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक टिम बिर्तामोडले विजयी शुरुवात गरेको हो ।

खेलमा बिर्तामोडलाई जित दिलाउन चुनु सोरेनले ह्याट्रिक गरे । उनले खेलको ९औं मिनेटमा टिमका लागि दोस्रो तथा पहिलो व्यक्तिगत गोल गरे । त्यसअघि खेलको पहिलो हाफको चौथो मिनेटमा बिर्तामोडका लागि टिम कप्तान राम बुढाथोकीले पहिलो गोल गरेका थिए । खेलको १३ औं मिनेटमा चुनु सोरेनले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले खेलको ५३ औं मिनेटमा थप एक गोल गर्दै ह्याट्रिक पुरा गरे ।
कचनकवलका लागि भने खेलको १८ औंं मिनेटमा महेन्द्र राजवंशीले एक गोल गरेका थिए । उसका लागि २४ औं मिनेटमा प्रकाश घिमिरेले थप एक गोल गरे । खेलमा कचनकवलका लागि पहिलो गोलकर्ता राजवंशीले पहेलो कार्ड पाएका थिए।

बिर्तामोडका लागि ह्याट्रिक गर्ने खेलाडी सोरेन खेलको म्यान अफ दी म्याच भए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले पुरस्कार प्रदान गरिन् । बिर्तामोड नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ।

त्यस्तै प्रतियोगिताअन्तर्गत शुक्रवार भएको दोस्रो खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी बनेको छ । प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशीका लागि पहिलो हाफको तेस्रो मिनेटमा टिम कप्तान प्रदिप श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ९ औं मिनेटमा सन्तकुमार श्रेष्ठले बाह्रदशीका लागि दोस्रो गोल गरे । बाह्रदशीका लागि खेलको इन्जुरी समयमा कैलाश डोमले तेस्रो गोल गरेका थिए ।

खेलमा अर्जुनधाराको कर्मचारी टिमले भने कुनै पनि गोल गर्न सकेन । पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको अर्जुनधाराले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न सकेन । खेलमा बाह्रदशीका लागि तेस्रो गोल गर्ने कैलास डोम म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई पूर्वकर्मचारी तथा सामाजिक व्यक्तित्व देवराज कार्कीले पुरस्कार प्रदान गरेका थिए ।
चैत्र २४ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख प्रसाईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्