मेचीनगर,चैत १० । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी संघले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको छ ।

केहीबेर अघि सम्पन्न समानुपातिकतर्फको मतगणनामा कांग्रेसनिकट नेविसंघले २१६ , एमालेनिकट अनेरास्ववियुले ११६, एकीकृत समाजवादीनिकट अनेरास्ववियुले ११० , राप्रपानिकट राप्रविसंले ३० र माओवादीनिकट अखिल क्रान्तिकारीले २६ मत ल्याएका छन् । प्रत्यक्षतर्फको मतगणनामा पनि नेविसंघको प्यानल अगाडि रहेको छ । क्याम्पसमा कुल ६१६ मतदाता विद्यार्थी रहेकोमा ५०४ मत खसेको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले बताए ।

निर्वाचनमा तीनवटा प्यानलले उम्मेद्वारी दिएका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघका तर्फबाट विशाल तामाङ , एमालेनिकट अनेरास्ववियुका तर्फबाट रोशन भुजेल र माओवादीनिकट अखिल क्रान्तिकारी , राप्रपानिकट राप्रविसं र एकीकृत समाजवादीनिकट अनेरास्ववियुको संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलका तर्फबाट विनम सरदारले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्