झापा, चैत १२ । काम छाडेर जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमै टिकटक बनाउन थालेपछि त्यस किसिमको विकृतिलाई प्रतिबन्ध लगाउन झापामा तयारी थालिएको छ ।

आजकल मनोरन्जनको माध्यम बनेको टिकटकप्रति आफ्नो जिम्मेवारी र मर्यादा बिर्सेर जनप्रतिनिधि र कर्मचारीहरु मस्त भएपछि त्यसलाई रोक्नका लागि कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध लगाउने तयारी थालिएको हो ।

टिकटकले धेरै विकृति ल्याएपछि जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा टिकटकलाई प्रतिबन्ध लगाउने एजेन्डा नै लैजान लागिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले नीति नै बनाएर टिकटकलाई प्रतिबन्ध लगाउन आबश्यक भएको बताए । ‘काम गर्न आएका कर्मचारीहरु टिकटक बनाउन लाग्दा समयको बर्बादीसंगै कार्यालयको गोपनीयता पनि भंग हुने खतरा छ’ उनले भने ।

गत स्थानीय तहको निर्वाचनको सेरोफेरोमा एक म्यादी प्रहरीले बर्दी लगाएर बनाएको एउटा भिडिओ टिकटकमा भाइरल भएको थियो । म्यादी प्रहरीमा भर्ना भएकी एक जना युवतीले टिकटकमा म्यादी प्रहरी पोशाकको दुरुपयोग गरेकी थिइन् ।‘सुरक्षा निकायका कर्मचारीहरु टिकटकप्रति अझ संवेदनशील हुनुपर्छ ’जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका प्रजिअ पोखरेलले भने,‘राष्ट्रसेवक कर्मचारीहरुले मनोरंजन गर्ने क्रममा सिंगो निकायको छवि बिगार्नु हुँदैन ।’
भर्खरै संचालनमा आएको बिर्तामोड नगर अस्पतालले अस्पतालभित्र आफ्ना कर्मचारीहरुलाई टिकटक बनाउन प्रतिबन्ध लगाइसकेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले सबै कर्मचारीलाई त्यसबारे सचेत गराएका छन् । नगर अस्पतालसंगै नगरपालिका कार्यालय र त्यस मातहतका सबै कार्यालयहरुमा अब टिकटक बनाउन प्रतिबन्ध लगाइने नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।यसअघि बिर्तामोडका केही कर्मचारीले आफ्नो र अरुको मर्यादाको ख्याल नराखी टिकटक बनाउने र फेसबुकमा भिडियो हाल्ने गरेको बताउँदै उनले त्यस किसिमको क्रियाकलाप अब गर्न नपाउनेगरी निर्णय पारित गरिने जानकारी दिइन् । स्थानीय तहका कर्मचारीसंगै जनप्रतिनिधिहरुले समेत कार्यालयमा टिकटक बनाउने गरेका छन् ।
आजकल रमाइलो गर्न टिकटक, केहि नयाँ कुरा थाहा पाउन टिकटक, समाचार सुन्न ÷ हेर्न टिकटक, खाना बनाउन सिक्न टिकटक । यतिसम्म कि कुनै वस्तु वा सेवाको प्रचारका लागिसमेत सबैभन्दा राम्रो माध्यम बनेको छ टिकटक । तर त्यहि टिकटकले धेरै विकृति भित्र्याएको छ । ‘भाइरल’ हुने बहाना र चाहनामा गरिने हर्कतले टिकटकको दुरुपयोग भएको छ । टिकटकको दुरुपयोग बढेपछि अहिले पशुपति क्षेत्रसहित धेरै पर्यटकीय स्थल, धार्मिक स्थलहरुमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।

यसअघि बैंकमा टिकटक बनाउने क्रममा केही घटनाहरु भएका थिए । काठमाडौँस्थित एक बाणिज्य बैंकमा बैंकका कर्मचारीले टिकटक बनाउने क्रममा ग्राहकको अनलाइन बैंकिङका लागि भर्न दिएको फर्म नै टिकटकमा छताछुल्ल भयो । सो फर्ममा ग्राहकले आफ्नो सम्भावित पासवर्ड पनि उल्लेख गरेका थिए । सो ब्रान्चका ब्रान्च मेनेजरले कर्मचारीका तर्फबाट माफी मागे र फ्रन्ट डेस्कमा बस्ने ती कर्मचारीलाई टिकटक हटाउन लगाए। यस्तै भयो सानिमा बैंकको एक शाखामा पनि । बैंकका कर्मचारी साइडमा टिकटकको फलोअर्स चेक गर्दै आफ्नो सिष्टम चलाउँदै थिए । काम गर्दै जाँदा भोलिपल्ट मात्र थाहा भयो कि एक ग्राहकको बाउन्स हुनुपर्ने चेकबाट भुक्तानी भएछ । पछि यो केस सामसुम पारेर मिलाइयो । काममै टिकटक चलाउँदा ‘दुर्घटना’ भएको भन्दै मेनेजरले सो शाखामा टिकटक चलाउन नै निषेध गरिदिए ।

त्यस्तै घटना एनआईसी एशिया बैंकमा पनि भएको थियोे । एक ग्राहकले भदौ २४ को चेक काटेर दिएका थिए एउटा पाटीलाई । तर सो चेक साउन २४ गते नै भुक्तानी भयो । व्यवहार मिलाउन एक महिनापछिको चेक दिएका ग्राहकले आफूले दिएको चेक १ महिना अघि नै साटिएपछि बैंकमा गएर प्रश्न गरे । पछि बुझ्दा पो थाहा भयो, बैंकका कर्मचारी टिकटकमा व्यस्त रहेछन् ।

पछिल्लो १ वर्षयता टिकटक प्रयोगकर्ताको संख्या थामिनसक्नु बढेको छ । टिकटकको लोकप्रियताकै कारण यसमा झुम्मिनेहरुको संख्या पनि बढ्दो छ । सुरुवातमा रमाइलो र सूचना प्रवाहको पृथक माध्यमका रुपमा स्थापित भएको टिकटक आजभोली भने विकृतिको सागर बन्दै गएको छ । यो विकृतिबारे जानकार नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई टिकटक बनाउन रोक नै लगाएको छ ।

चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ भने अमेरिका हुँदै पछिल्लोपटक डेनमार्कले पनि टिकटक एपलाई आफ्ना सरकारी उपकरणमा बन्देज लगाएको छ । यसका अलावा विश्वका अन्य मुलुकहरु पनि छन् जहाँ टिकटकमाथि प्रतिबन्ध लगाइएको वा कडा नियन्त्रणमा राखिएको छ । अफगानिस्तान, पाकिस्तान, ताइवान, युुरोपेली युनियन, क्यानडा, डेनमार्कलगायतका देशले टिकटकलाई कडा नियन्त्रणमा राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्