झापा, चैत १२ । नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७४ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष डम्बरबहादुर गिरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेको भ्रातृ संगठन युवा संघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा क्षेत्र नं ३ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका थिए । पार्टीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउनेगरी गरेको चुनावी तालमेलविरुद्ध उनले वागी उम्मेदवारी दिएका थिए । त्यसपछि एमालेले उनलाई कार्वाही गरेको थियो । गत असोज २७ मा झापा क्षेत्र नं. ३ बाट बागी उम्मेदवारी दिएका जिल्ला कमिटीका सचिवालय सदस्य गिरीलाई नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

एकीकृत समाजवादीमा प्रवेश गरिसकेपछि उनले आफ्नो फेसबुकमा लेखेका छन् , ‘आज मिति २०७९ चैत्र ११ गतेदेखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।’
उनले झापामा एमालेले राप्रपासंग तालमेल गरेपछि विरोध जनाउँदै पार्टीमा बिद्रोह गरेका थिए । गिरी झापामा सशक्त युवा राजनीतिकर्मी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्