झापा , चैत्र १४ । पाँचथरका किसानलाई यतिखेर चैते धान रोप्ने चटारो छ ।

यो बेला रोपिने धान असार अन्तिममा पाक्छ । फागुन पहिलो साता राखिएको धानको बीउ यो बेला तयार भइसक्छ । पाँचथर फिदिम-२ को होक्मा खोला बेंसीमा चैते धान रोप्दै किसान । चैत लाग्दैदेखि रोपाइँको चटारो सुरु भएर महिनाभरि नै जारी रहन्छ । मध्यवर्षामा पाक्ने यो धानले साउने संक्रान्ति, तीज, दसैं, तिहार, छठ र उँधौलीसम्मका सबै चाडपर्व धान्ने भएकाले स्थानीयको जनजीवनमा यसको धेरै महत्व भएको फिदिम-४ का जितबहादुर यवाले बताए । यो धानको उत्पादन असारे धानको तुलनामा धेरै हुन्छ । महिला, पुरुष खेतीमा बरोबर खटिएका हुन्छन् । रोपाइँका लागि पुरुष मल छर्न, जोत्न, हिलोआली गर्न, दाँते लगाएर गरा सम्याउन र फ्याउरी लगाएर हिलो माटो मिलाउनमा व्यस्त हुन्छन् । बीउ काढ्न र गरासम्म बीउका मुठा पुर्‍याउन अनि तयार पारिएको खेतमा धान रोप्न स्थानीय महिला तल्लीन हुन्छन् । घरदेखि खेतसम्मको जिम्मेवारीले परिवारका महिला सदस्यलाई बोल्नेसमेत फुर्सद हुँदैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्