नेपालका बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको कर्जाको ब्याजमा दोब्बरले बृद्धि गरिएको छ । कोभिड –१९ पछि थलिएको ब्यापार÷ब्यवसाय धरासायी बनेको छ । चरम आर्थिक मन्दी, चर्को बैंक ब्याजदरको मर्कामा परेका उद्यमी÷ब्यवसायीले आत्मदाह, आत्महत्या गरिरहेका छन् । ७÷८ प्रतिशतमा लिएको ब्याज बढाएर बैंकहरुले १५÷१६ प्रतिशत पुर्याएका छन् । सबै ब्यवसाय घाटामा छन, तर बैंकले जसरी पनि नाफा कमाउनै पर्ने लक्ष्य भएका कारण मानिसहरुको घरबास उठिबास लाग्दै गएको छ । ब्यापार, ब्यवसाय गरेर पैसा कमाउने, परिवारको खर्च र छोरा–छोरीको पठनपाठन सहज बनाउन ऋण लिएकाहरु कर्जाको किस्ता र ब्याज तिर्न नसकेर झन् गरिब बन्दै गएका छन् । कतिको घरबार उजाडियो, कतिको उठिबास नै लागिसक्यो ।

शेयर बजारमा लगानी गरेका र ३२००। को उच्च बिन्दुमा किनेर बसेकाहरुको त कतिपय स्टकमा बैंकको ब्याजसमेत जोड्दा ८५ प्रतिशत सम्मको नोक्सानी÷घाटा ब्यहोर्नु परिरहेको छ । मुट्ठीभर सेण्डिकेटवाला (इन्साइडर ट्रेडिङ गर्ने) माफियाहरुको चंगुलमा रुमल्लिएको छ नेपालको शेयर बजार । बेच्नु छ भने आफ्नै परिवारको शेयर एउटा ब्रोकर कम्पनीबाट १०÷१० कित्ताका दरले सर्किट लगाउँदै बेच्यो । अर्को ब्रोकरबाट त्यही परिवारका सदस्यले अर्को डिम्याट एकाउण्टबाट किन्यो । यस्तोमा कित्ता जतिको त्यति नै हुन्छ, मात्र ब्रोकर कमिशनमा खर्च हुन्छ, त्यो पनि ब्रोकर पनि आफ्नै मान्छेको हुन्छ । बोनस, डिभिडेण्ट, हकप्रद के कति आउँदैछ ? कम्पनीका भित्रियाहरुबाट सूचना लियो अनि सीमित घरनाका मानिसको मात्र पहुँचमा यस्तो सूचनालाई राखेर झत्ते कम्पनीको ipo निकाल्यो, प्रिमियम थपेर पनि ipo निकाल्यो, प्रमोटर शेयरलाई पब्लिक गर्ने बेलामा भाउ बढाएर आम सर्वसाधारणलाई ठग्यो, डुबायो यही हो अहिलेको नेपालको शेयर बजार, बैधानिक जुवाघर । शेयर कारोबारको दोस्रो बजार यहाँ आम सर्वसाधारणको कुनै सुरक्षा छैन, हुँदैन । नियमनकारी निकायमा बसेकाहरु नै कमिशन र शेयर हिस्सा हात पार्न भित्री सूचना चुहाउने, बेच्ने कार्यमा संलग्न रहने गरेकाले सर्वसाधारणहरु शेयर बजारमा नराम्ररी ठगिएका छन्, फँसेका छन् ।

शेयर धितो लिएको कर्जाको पनि ब्याजदर अचाक्ली बढेको छ । शेयर मूल्य घट्नासाथ बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन घटाउन दवाव दिइहाल्छन् । नत्र ८०÷८५ प्रतिशतको घाटामै शेयर बेचिदिएर असुल गरिहाल्छन् । बैंकरलाई अर्काको सम्पत्ति स्वाहा पारेर भएपनि आफू धन कमाउनै परेको छ । देशको बिषम परिस्थिति, वित्तीय संकट र ग्राहकको समस्याप्रति बैंक संचालकहरु यति अनुदार छन् कि– उनीहरुलाई मानिसहरुको जीउ, ज्यान केहीसँग मतलब छैन, मात्र ब्याज र किस्ता असुली हुनुपर्याे, उनीहरुको ध्येय, लक्ष्य, उद्धेश्य यही हो । बैकमा निक्षेप जम्मा गरेका मानिसहरुको सम्पत्तिको सुरक्षा हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । ऋणीले आफूले लिएको कर्जाको साँवा, ब्याज तिर्नैपर्छ । तर यसका लागि यो बिषम परिस्थितिमा भाखा नाघेको ऋणको म्याद एक वर्षसम्म थप गरिनुपर्छ र ब्याज एकल अंकमा ल्याई ग्राहकबाट साँवा, ब्याज असुली गरिनुपर्छ । यो दोब्बरभन्दा बढी ब्याज जनताले अब तिर्न सक्दैनन् । ब्याजदर घटाऊ बैंकर्सहरु । ब्याजदर एकल अंकमा नल्याइए देश झन् संकटमा पर्नेछ र मुलुक असफल राष्ट्रमा सूचीकृत हुने खतरा बढेर गएको छ । बैंकहरु ब्याजदर घटाऊ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्