झापा, चैत्र १५ । मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ ।

मंगलबार ईलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका-२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गाँजासहित पक्राउ परेका थिए । भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकधकुमार सिंहलाई १५० किलो गाँजा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले मोरङको रङ्गेली नगरपालिका-३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा लुकाईछिपाई राख्ने गरेको खुलेपछि प्रहरी खानतलासीका लागि पुगेको थियो । कार्कीको घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटिएपछि प्रहरीले कार्कीसहित गाँजा ओसारपसारमा संलग्न थप दुई भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पनि पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । उनीहरुको साथबाट कुल २३४ किलो गाँजा बरामद भएको हो। डीएपसी कार्कीले पक्राउ परेका पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्