झापा, चैत १५ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता संचालित गिरोहमा संलग्न पूर्वाञ्चल क्षेत्रका नाइके पथरी घर भएका सागर राई बुधबार अपराह्न बालकुमारीबाट पक्राउ परेका छन् ।

पथरी–शनिश्चरे नगरपालिका, वडा नं १० का निवर्तमान वडाध्यक्षसमेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् । ‘शरणार्थी बनाउने र अमेरिका उडाउने’ भनेर गिरोह चलाउँदै आएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई आइतबार अपराह्न काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसपछि आएको थप जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

आफू निर्वाचित वडाध्यक्ष भएकै बेलामा राईले पूर्वका जिल्ला केन्द्रित हुँदै अमेरिका जाने सपना देखाएर मोटो रकम उठाउन थालेका थिए । यो गिरोहका नाइके दुलालका तर्फबाट पूर्वाञ्चल क्षेत्रको आर्थिक कारोबार जिम्मा लिएका राईलाई पूर्वमा ‘दुलालको मुन्सी’ भनेर चिनिने गरेको पीडितले जनाएका छन् । स्रोतका अनुसार दुलाल पक्राउ परेपछि उनले आफ्नो बयानमा समेत राईको नाम मुछेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार यही गिरोहको संजाल र तिनकै स्थानीय एजेन्टको भरमा परेर ठगिएका एक सयभन्दा बढी पीडितले कास्की, चितवन, काठमाडौंबाट बिहीबार मात्रै सम्पर्क गरेका छन् ।(कान्तिपुरबाट)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्