झापा, चैत १८। असिनासहित आएको हावापानीले झापामा एकजनाको मृत्यु भएको छ ।त्यस्तै घर उडाउँदा करोडौंको क्षति भएको छ ।

रुखको हाँगाले लागेर दमककी एक महिलाको मृत्यु भएको हो । शनिवार बिहान हावाहुरीले भाँचेको दाउरा टिप्न जानेक्रममा तारावारीको अर्नाखाडीमा भाँचेको रुखको हाँगा तान्ने क्रममा सोही हाँगाले लागेर स्थानीय ४० वर्षिया सिलाई धिमालको मृत्यु भएको हो । बिहान ९ बजेतिर घाइते भएकी धिमाललाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । उनले हावाहुरीले झापामा करोडौंको क्षति भएको बताए । कृषि बालीसंगै टीनको छानो भएका उद्योगहरुमा व्यापक क्षति भएको उनले बताए । उद्योगमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
त्यस्तै हावाहुरीसहित आएको असिना पानीले बिर्तामोड– ३ स्थित मुसहर बस्तीमा चारवटा घर भत्किएको छ । सन्तोष ऋषिदेव , राजेन्द्र ऋषिदेव , संजय ऋषिदेव र मनु ऋषिदेवको घर हावाहुरीले भत्काएको हो । उनीहरुको टीनको छाना भएको बाँसको घरको छानो उडाएको हो । त्यस बस्तीमा ९ घर मुसहर रहेका छन् । हावाहुरीका कारण अधिकांशको चर्पीसमेत भत्किएको छ । अन्जु चौधरी ,मनु ऋषिदेव , सुरज ऋषिदेव ,संझना मुर्मूलगायतको चर्पी भत्किएको हो । बिर्तामोड– ३ का मुसहरसंगै बिर्तामोड– १० विराटपोखरका विपन्न मुसहरको घर पनि भत्किएको जनाइएको छ ।

असिनासहितको हावापानीले बालीनालीमा पनि लाखौंको क्षति पुगेको छ । कन्काई नगरपालिकामा मात्र २४ सय हेक्टरभन्दा बढी क्षेत्रफलको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । बालीनालीको क्षति अवलोकन गर्ने क्रममा कन्काई नगरपालिकामा मात्र २४ सय हेक्टरभन्दा बढी क्षेत्रफलको बालीनाली क्षति भएको पाइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले आइतवार बिर्तामोड र भद्रपुर नगरपालिकामा क्षतिको विवरण संकलन गरिने जानकारी दिए ।

हावाहुरी र असिनापानीले कृषि बाली र भौतिक संरचनामा क्षति गरेको बिर्तामोड नगरपालिका वडा नं.९ र १० का बासिन्दाहरुले बताएका छन्। शुक्रबार साँझ एक्कासी उत्तर पश्चिमतर्फबाट ठूलो हावाहुरीसहित असिना पानी परेको थियो। बिर्तामोड –९ का बालकृष्ण आले, बुधलाल कुर्मी ,१० का मनबहादुर राई तारा विश्वकर्मा,दिलिप विश्वकर्मा,छबिलाल नेपालले आफ्नो र अन्यको मकै र अन्य बालीका साथै भौतिक क्षति पुगेको जानकारी दिए। बिर्तामोड –९ ,१० लगायतका वडाहरुमा मकै ,जै घाँस,आँप,लिचि,तरकारी बालीमा क्षति पुगेको छ । घरको जस्तापाता असिनापानी र हावाहुरीले उडाएर लगेको,प्वाल पारेको, घर भत्काएको,निर्माण हँुदै गरेका संरचनामा असर पुगेको जनाइएको छ । पाक्न लागेको र हुर्कदै गरेको मकै भाँचिएको र असिनाले चुटेर काम नलाग्ने बनाएको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्