झापा, चैत १९ । शुक्रवार साँझ आएको हावाहुरीसहितको असिनापानीबाट झापाका उद्योगहरुमा ठूलो क्षति पुगेको छ ।

अहिलेसम्मको तथ्यांक अनुसार झापाका उद्योगहरुमा २४ करोडभन्दा बढीको क्षति पुगेको हो ।जस्तापाताको छाना भएका उद्योगहरुको छाना उडाउँदा उद्योगको मेशिन, तयारी वस्तु , कच्चा पदार्थलगायतमा क्षति पुगेको संचालकहरुले बताएका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर २मा रहेको पाथिभरा स्टिल इण्डष्ट्रिजमा दश करोड रुपैयाँभन्दा बढीको क्षति भएको संचालकहरुले बताएका छन् ।

उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याब, कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत धेरै मेशिनहरु पानी पसेर पूर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रवन्ध निर्देशक कपिल बिमलीले जानकारी दिए ।

यस्तै उद्योगमा काम गर्ने मजदुर बस्ने क्वाटरमा समेत पूर्णरुपमा क्षति पुगेको छ । त्यहाँ भएका भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायतका सामग्रीहरुमा क्षति हुनुका साथै भवनको छानामा लगाएको जस्तापातासमेत उडाएको छ । उद्योगको मुख्य मेशिन र भट्टी रहेको स्थानको छाना उडाएर असिना पानी पसेका कारण ठुलो क्षति भएको उद्योगका व्यवस्थापक भुपाल थापाले जानकारी दिए ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं.२ मै संचालनमा रहेको पाथिभरा प्लाई एण्ड ईन्डष्ट्रिजमा ३ करोड २०लाखबराबरको क्षति भएको छ । बिर्तामोड– २ बस्ने रामकुमार बुढाथोकी र अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने प्रेमप्रकाश कुरुम्बाङले संचालन गर्दै आएको सो फ्याक्ट्रीमा फेसस्टक १ करोड, प्लाईउड ६० लाख,कोर फाली ३५लाख, ट्रस डेमेज (टिनसहितको घर) १ करोड २५ लाख गरी जम्मा ३ करोड २० लाखबराबरको क्षति भएको संचालकहरुले बताएका छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं.५ बस्ने राजकुमार अग्रवालले बिर्तामोड २ चैतुबारीमा संचालन गरेको नमस्ते प्लाई एण्ड ईन्डष्ट्रिजमा ७० लाखबराबरको क्षति भएको छ । तयार रहेको प्लाईहरु फेस पत्ता, कम्प्रेसर मेसिन, कोर पत्ता, फाईवर सिट, टिनसहितको वाल, सि.सि.क्यामेरालगायत अन्य सामानमा क्षति पुगेको जनाइएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं.–५ बस्ने मिनप्रकाश मैनालीको वडा नं २ मनकामना टोलमा रहेको कन्चनजंघा सिमेन्ट फ्याक्ट्रीमा ६ करोडबराबरको क्षति भएको छ । टिनको छानो उडाई त्यसको गोदामभित्र रहेको क्लिङ्कर (कच्चापदार्थ) फलारास,सिमेन्ट समेत पानीले भिज्दा सो बराबरको क्षति भएको संचालकले जनाएका छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने महेशकुमार चित्लाङले वडा नं २ मनकामना टोलमा संचालन गर्दै आएको अम्बे भवानी प्लाई फ्याक्ट्रीमा ९५ लाख बराबरको क्षति भएको छ । त्यस फ्याक्ट्रीमा प्लाई फेस १० लाख , प्लाईउड ४० लाख, कोर फाली ३० लाख, टिन जस्तापाता उडाउँदा १५ लाख क्षति भएको जनाइएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने विकास गोयलको वडा नं २ मनकामना टोलमा रहेको कन्काई प्लाई फ्याक्ट्रीमा ३ करोड १० लाखबराबरको क्षति भएको छ । तयारी रहेको प्लाई ९० लाख, फेस भेनियर ६० लाख,कोर भेनियर १ करोड २५ लाख , टिनको छानो उडाउँदा ३५ लाखबराबरको क्षति भएको हो ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नं. ६ मा रहेको जगदम्बा चिया फ्याक्ट्रीको जस्तापाताको छाना उडाई करिब ६ लाख बराबरको क्षति भएको छ । बैंकको व्याजदर र बजारको आर्थिक अवस्थाले पिरोलिरहेका बेला उद्योगले ठुलो क्षति व्यहोर्नु पर्दा लगानीकर्ताहरु मारमा परेका छन् ।

क्षति व्यहोरेका उद्योगका संचालकहरुले क्षतिको विवरण टिपाउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्