झापा, चैत २० । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवाकेन्द्रले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

दुर्गापुर सेवाकेन्द्रले संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सोमवार कनकाई नगरपालिका वडा नम्बर २ को सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सेवाकेन्द्रले कक्षा १ देखि ८ सम्म अध्ययनरत ३० जना विद्यार्थीलाई आधा दर्जनका दरले कापी वितरण गरेको छ । त्यस्तै सेवाकेन्द्रले खेलकुद सामग्रीअन्तर्गत फुटवल र भलिवल प्रदान गरेको छ ।

त्यसैगरी ३ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षाअन्तर्गत एक बर्ष निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ । विद्यालयका अंकित दाहाल, पूर्णमाया विक र बिनिता प्रसाईलाई साकोसले एक बर्ष निःशुल्क कम्प्युटर शिक्षाका लागि सम्झौता गरेको हो ।

साकोसका बिर्तामोड अनुगमन कार्यालयका अनुगमन अधिकृत घनश्याम रायको अध्यक्षतामा भएको कार्यक्रममा रायले संस्थाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बलराम राई (प्रताप) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत दुर्गापुर सेवाकेन्द्रकी बरिष्ठ कर्मचारी बिष्णुमाया खड्काले गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राई, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनाल, जामुनवारी सिमसार पर्यटकीय क्षेत्रका अध्यक्ष खेमराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन दुर्गापुर सेवाकेन्द्रका प्रमुख पदमप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्