झापा, चैत २१ । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगर प्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गीकरण कार्य सम्पन्न गरेको हो ।
बैठकले वडा नम्बर ६मा रहेको गिरीबन्धु टी–स्टेटको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा सट्टापट्टाका विषयमा सरकारको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेकोले हाललाई उक्त जग्गा वर्गीकरणमा समावेश नगर्ने निर्णय गरेको छ ।वडा नम्बर ६ साविक अनारमनि गाविस वडा नम्बर १को बाँकी रहेका जग्गाको भने वर्गीकरण सम्पन्न गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

यस्तै यसअघि सम्पन्न भएको वडा नम्बर ७,८,९ र १० क्षेत्रमा पर्ने जग्गाहरुलाई भू–उपयोग नियमावली २०७९ र स्थानीय भू–उपयोग परिषद्ले तोकेको मापदण्डको आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गरि अनुमोदनसमेत गरिसकेकोले नियमानुसार कित्ताकाट गर्ने, उपभोग गर्ने तथा बेचविखन गर्न भूमिसुधार तथा मालपोत कार्यालयलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।

नगरपालिकाले वडा नम्बर ६को जग्गा वर्गीकरणसम्बन्धी सूचना स्थानीय पत्रपत्रिका र आधिकारिक वेबसाइटमा प्रकाशन गर्ने छ ।वर्गीकरण अनुसार आवासीय क्षेत्रका जग्गामा सम्पति कर र कृषि क्षेत्रको जग्गामा मालपोत भूमिकर लागु हुने नगरपालिकाले जनाएको छ । बिर्तामोडको वडा नम्बर १ देखि ५ सम्मको जग्गामा भने यसअघि नै कित्ताकाट तथा किनबेच सुरु भईसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्