झापा , चैत २५ । नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा निधन भएको छ ।

१९८१ सालमा जन्मिएका तेह्रथुम म्याङलुङका स्थायी निवासी नेता तुम्बाहाम्फेको गएराति पौने १० बजे निधन भएको हो ।

बीपी कोइरालाको सभापतित्वमा रहेको केन्द्रीय कार्यसमितिमा सदस्य रहेका तुम्बाहाम्फे २०१५ सालको निर्वाचनमा क्षेत्र नम्बर २६ धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सक्रिय राजनीति छोडेपनि पार्टी र देशको राजनीतिका विषयमा भने अपडेट रहने र विगतसँग तुलना गरेर विश्लेषण सुनाउने तुम्बाहाम्फे तेह्रथुम कांग्रेसको अभिभावकका रूपमा रहेका थिए ।
१०४ वर्षे हुकुमी राणाशासन अन्त्यका लागि २००७ सालको क्रान्तिको नेतृत्व गर्ने नेपाली कांग्रेस र तत्कालीन नेता विश्वेश्वरप्रसाद (बिपी) कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरुसँगै राजनीतिमा होमिएका उनी २००६ सालमा कांग्रेसमा आबद्ध भए । उनले बीपीको निकटमा रहेर २००७ सालको जनक्रान्तिमा पूर्वका आदिवासी जनजातिको नेतृत्व गरेका थिए। २०१५ सालको निर्वाचनमा देशभर ३३ जिल्ला रहेकोमा देशभर कुल १०९ वटा निर्वाचन क्षेत्र तोकिएका थिए । तुम्बाहाम्फेले कांग्रेसकै संगठनको बलमा प्रत्यक्ष निर्वाचनमा निर्वाचन क्षेत्र नं. २६ (धनकुटा) बाट चुनाव जितेका थिए । राजा महेन्द्रले ०१७ सालमा ‘कु’ गरेर संसद् विघटन भएपछि राजनीतिक दललाई प्रतिबन्ध लगाइयो । त्योबेला तुम्बाहाम्फेले एक वर्ष निर्वासित जीवन बिताए । पछि पारिवारिक कारण उनी स्वदेश फर्किए । ०३६ सालको जनमत संग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो । दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यपछि ०६२÷६३ को जनआन्दोलनमा समेत उनले जिल्लावासीको नेतृत्व गरेका थिए।

नेपालको संविधान निर्माणको क्रममा सातौँ संविधान निर्माण जनपक्षीय हुनुपर्ने भन्दै अभिव्यक्ति दिने तुम्बाहाम्फेले संविधान जारी भइसकेपछि संविधानको कार्यान्वयनको पक्षमा वकालत गर्थे ।
नेता तुम्बाहाम्फेको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो शोक व्यक्त गरेका छन् । ‘स्वर्गीय तुम्बाहाम्फेले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ उहाँका शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले विज्ञप्तिमार्फत् भनेका छन् ।

तुम्बाहाम्फेको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र चैत २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको छ ।
कांग्रेसले १३ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्लाहरूमा समेत शोक पुस्तिका राख्न र शोक सभाहरु आयोजना गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्