झापा, चैत २९ । सदरमुकाम सिरहा बजारस्थित प्रादेशिक अस्पतालको जेनेरेटरमा बुधबार दिउँसो आगलागी भएको छ ।

आगलागीका कारण बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलाइसिस गराइरहेका सिरहाको बरियारपट्टी खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको छ । डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो ।

डायलाइसिसका क्रममा रगतको कमी भएका दासलाई आगलागी हुनुभन्दा अघिदेखि रगत चढाउने क्रम जारी थियो । आगलागी हुन थालेपछि स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा अत्यधिक रक्तस्राव भएको थियो । रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
तीन वर्षदेखि बिरामीबाट थलिएका दासको प्रादेशिक अस्पताल सिरहामा हरेक साता बुधबार डायलाइसिस हुँदै आएको थियो । बुधबार पनि अस्पतालमा उनको नियमित डायलाइसिस भइरहेको थियो । अस्पतालमा आइतबार र बुधबार डायलासिस गरिन्छ । आगलागीको समयमा आठजना बिरामीले डायलाइसिस गराइरहेका थिए ।

प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी अशोक सिंहले जेनेरेटर चल्ने क्रममा बुधबार दिउँसो १ बजेर ५० मिनेटको समयमा आगलागी भएको जानकारी दिए । आगलागी भएपछि डायलाइसिस, एचडीयू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न भागेर बाहिर निस्किएका थिए । भागदौडका क्रममा अत्यधिक रक्तस्राव भएका प्रदीपकुमार दासलाई पछि आकस्मिक कक्षमा उपचार गराए पनि जोगाउन नसकिएको सूचना अधिकारी सिंहले जानकारी दिए ।

सिरहा नगरपालिकाको बारुण यन्त्र, स्थानीय र नेपाल प्रहरीले आधा घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । आगलागीबाट १३२ केबीको जेनेरटर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा ४० लाख रुपैयाँ बराबरको क्षति भएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डे जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्