भद्रपुर, असार २८ । जनप्रतिनिधिलाई लक्षित गरी गालीगलौज र चरित्रहत्या गर्नेविरुद्ध भद्रपुर नगरपालिकाले कानुनी उपचारको बाटो जाने चेतावनी दिएको छ ।

नगरपालिका प्रमुख गणेश पोखरेलले बिहीबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा जनप्रतिनिधिलाई लक्षित गरी अमर्यादित शब्द प्रयोग गरी गालीगलौज र चरित्र हत्या गर्नेविरुद्ध कानुनी कारबाहीको प्रक्रिया जाने बताएका छन् ।
नगरपालिकाको सूचनामा भनिएको छ, ‘बुधवार बिहान परेको अविरल वर्षासँगै आएको बाढीका कारण भद्रपुर नगरपालिकाभरि डुबान भएको र सो डुबानमा परेका परिवारहरूलाई उपलब्ध स्रोत र साधन प्रयोग गरी उद्धार र राहत प्रदान गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरू अहोरात्र खटिरहेको अवस्थामा जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरी सर्वसाधारणबाट सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गरी गालीगलौज र चरित्र हनन हुने गरी राखिएका अभिव्यक्तिहरूप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’

यस प्रकारका अमर्यादित शब्द प्रयोग गरी कसैको व्यक्तिगत चरित्र हनन हुने गरी सामाजिक मर्यादा विपरीतका शब्दहरू सामाजिक सञ्जालमा राखेको कारणले प्रयोगकर्तालाई हुने विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुन अनुसारको कारबाहीमा सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ता नै स्वयम् जिम्मेवार हुने ब्यहोरा जानकारी गराउँदै पुनः यस प्रकारका क्रियाकलाप नगर्न नगराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्