झापा , साउन १५ । आज साउन १५ अर्थात खीर खाने दिन। नेपाली परम्परा र संस्कार अनुसार आजको दिनलाई खीर पर्वको रूपमा मनाइएको छ।


अधिकांश नेपालीले आज घरघरमा खीर खाएर यो दिनलाई स्मरणीय बनाए । यो व्यक्तिगत कुरासंगै कतिपय संघसंस्थाले आज सामूहिक रूपमा खीर खाएर र खुवाएर यो दिनलाई विशेष बनाएका छन्।
झापामा महिला उद्यमी संघ नेपाल झापाले २३ जना अनाथ बालबालिकालाई खीर खुवाएर यो दिन सम्झनलायक बनाएको छ । संघले बिर्तामोड नगरपालिका – ४ मा रहेको तारा नमस्ते बालग्राममा आश्रित नानीबाबुहरूलाई खीर खुवाएको संघकी कार्यसमिति सदस्य कल्पना कडरियाले बताइन् ।
उनका अनुसार त्यहाँ रहेका बालबालिकालाई सामूहिक खीर खुवाएर खीर पर्व मनाइएको हो। सो बालग्राममा १२ जना बालक र ११ जना बालिका आश्रित छन् ।

बुबाआमा नभएका, बेवारिसे अवस्थामा छाडिएका तथा अन्य विभिन्न कारणले सहाराविहीन बनेका अनाथलाई योशोदा पोखरेल चापागाईंले बालग्राम खोलेर लामो समयदेखि आश्रय दिइरहेकी छन् ।
संघले सामाजिक कार्यक्रमअन्तर्गत उनीहरूलाई खीर खुवाएर साउन १५ लाई विशेष दिनका रूपमा मनाएको कडरियाको भनाइ छ। खीर खुवाउने कार्यक्रम संघकी कार्यबाहक अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संघमा आबद्ध महिला उद्यमीको बाक्लो उपस्थिति थियोे ।

नेपाली मौलिक परम्परा अनुसार आजको ठिक एक महिनाअघि अर्थात असार १५ मा दहीचिउरा खाने पर्व रहेको थियो । त्यसैगरी आज अर्थात साउन १५ गते खीर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भनेझैँ साउन १५ गते खीर खाइन्छ ÷ खुवाइन्छ।

यो पहिलेदेखि नै रहँदै आएको थीति भएको संस्कृतिविद् डा. जगमान गुरुङको भनाइ छ । पौराणिक र धार्मिक मान्यता अनुसार विभिन्न पूजाआजामा खीर खाने गरिन्छ । हवन गर्दा समेत खीर अग्निमा चढाउने गरिन्छ ।
साउन १५ मा देवदेवालय तथा मन्दिरहरूमा दीनदुःखीलाई प्रसादका रूपमा खीर खुवाउने चलन छ । असार १५ गते दहीचिउरा खाने र धान दिवस मनाउने प्रचलन रहे जसरी साउन १५ गतेलाई खीर खाने र कोदो दिवस मनाउने निर्णय सरकारले गरे समयसापेक्ष र सान्दर्भिक हुने जानकारहरुको धारणा छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्