झापा, साउन १७ । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बिहान १० बजे मुख्यमन्त्रीमा शपथ लिन प्रदेश प्रमुखबाट समय प्राप्त भएकोले त्यही अनुसार तयारी गरेको बताए । उनले जनता समाजवादी पार्टीबाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बाट १÷१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा नेता थापाले शपथ लिने तयारी गरेको बताए ।

थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एक÷एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरि शपथ ग्रहण गर्ने तयारी गरेको बताए । तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।

माओवादीबाट सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेसबाट अघिल्लो सरकारका बिना विभागीयमन्त्री बनेका प्रदिपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) कमलप्रसाद जवेगु मन्त्रीमा जाने दलहरूले जनाएका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुख खापुङ्ले मंगलबार पुनः नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्