झापा, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १०ः३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम सरेको छ ।

थापाले साँझ ५ बजे मात्रै शपथ लिने भएका छन् । मन्त्रालयको भाडबन्डा मिलाउन दलहरु छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम सारिएको हो ।
मन्त्रिमण्डल विस्तारमा दलहरूबीच छलफल चलिरहेकाले शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे सम्मका लागि सार्न प्रदेश प्रमुखको कार्यलाई अनुरोध गरेको मुख्यमन्त्री थापाले बताए ।

आज मुख्यमन्त्रीको सपथपछि कम्तिमा तीन मन्त्री नियुक्त हुनेछन् । जसमा माओवादीबाट सभामुख छाडेका बाबुराम गौतम, कांग्रे्रेसबाट प्रदिप सुनुवार र एकीकृत समाजवादीबाट कमल जवेगु छन् । उनीहरुले मन्त्रालय पनि तोकेर सपथ गराउने तयारी छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलवार मुख्यमन्त्री नियुक्त गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमले मंगलवार नै पदबाट राजीनामा दिएका थिए ।

यसअघि थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो । थापा यसअघि असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सर्वोच्चले साउन ११ गते बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्