झापा , साउन १९ । चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीबीचको झडप नियन्त्रणमा आएको छ ।

कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ढुंगा हान्ने र आगजनी गर्ने काम गरेका थिए ।

हिजो कारागार प्रशासनले कारागारमा रहेका कैदी लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको पक्ष विपक्षमा कारागारका कैदीवन्दीबीच झडप भएको बताइएको छ । अहिले कारागारका चौकीदारसंग छलफल चलिरहेको एक प्रहरी अधिकारीले बताएका छन् । कैदीबन्दीहरुले कारागारभित्र नारावाजी गरेका थिए ।कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिएको थियो । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाएका थिए ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको थियो ।कैदी लावतीलाई तत्काललाई सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले कैदीबन्दीले सामान्य ढुंगा हानेको र मुढा बनाउन कारागारभित्र लगिएका टायर बालेको बताए । त्यसबाट खासै क्षति नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्