झापा, भदौ ७ । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालु तेस्रो तथा हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जनाएका हुन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को गएराति ८ बजे बसेको बैठकले हिउँदे अधिवेशन अत्यका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेशलाई बजेट शून्यतामा जान नदिन अधिवेशन अन्त्य गरी प्रदेश सरकारले तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट फिर्ता गरी बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी गरेको छ ।
मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको भोटले लिएको विश्वासको मतको विरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर गरेपछि हतारोमा अधिवेशन अन्त्य गरेर बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउन जुटेको सत्तारुढ गठबन्धनका प्रदेश सांसदले बताए ।
कार्कीले दर्ता गराएको रिट निवेदनमा मुख्यमन्त्री थापाले संविधानको धारा १८६ विपरित सभाध्यक्ष मन्सुरीको मतले गैरसंवैधानिक रुपमा सिद्ध गरेको विश्वासको मत शून्य सरह भई सरकारको हैसियत विश्वसको मत प्राप्त गर्नुपूर्वको भएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कुनै पनि दीर्घकालीन महत्वको असर पर्ने र दूरगामी प्रकृतिको निर्णय नगर्नु नगराउन सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेशको माग दाबी गरेको उल्लेख छ ।
उक्त माग दाबी अनुसार सर्वोच्चले अन्तरिम आदेश गरिदिएको अवस्थामा प्रदेश भदौ १० गतेबाट बजेट शून्यतामा जाने जोखिम रहेकाले सरकारले अधिवेशन अन्त्य गरी बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउने तयारीमा जुटेको ती सांसदले बताए ।