झापा,भदौ ११ । झापाका सीमा नाकाबाट तस्करी गतिविधि मौलाएसँगै सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।

सोही क्रममा सशस्त्र प्रहरीले १२ घण्टाभित्र जिल्ला विभिन्न नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएका सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी डीएसपी दिनेश कटुवालले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले आइतबार राति ९ बजेको समयमा झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैको सीमा इलाकाको सन्थालबस्तीबाट ठुलो परिमाणको जुत्ता चप्पल बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ११ कार्टुन स्पोर्टस जुत्ता र चप्पल बरामद गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ तस्करहरु सामान छाडेर भागेका थिए ।
बरामद गरिएको विभिन्न ब्राण्डका २५४ जोर जुत्ता र २४५ जोर चप्पललाई अन्दाजी ४ लाख ४ हजार मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको छ ।

त्यस्तै सशस्त्र प्रहरीको बिओपी नकलबन्दाका प्रहरी नायव निरीक्षक युवराज खतिवडाको मोबाइल गस्ती टोलीले सोमबार बिहान ६ बजे काँकडभिट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ९००४ नम्बरको अटो चेकजाँच गर्दा ४ बोरा भारतीय कम्पनीका सुर्तीजन्य पदार्थ बिडी बरामद गरेको छ । सशस्त्रलाई देख्न साथ अटो चालक फरार भएका थिए ।

त्यसैगरी सोमबार बिहान ६ बजे २० मिनेटको समयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएका इन्स्पेक्टर भीष्म सापकोटाको सशस्त्र प्रहरी टोलीले काँकडभिट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ८७४४ नम्बरको अटोबाट पनि ४ बोरा बिडी बरामद गरेको छ । नकलबन्दाको टोलीले एउटा अटो नियन्त्रणमा लिएको र अर्को अटो त्यहाँबाट भगाएपछि गणबाट खटिएको टोलीले सो अटोलाई पनि नियन्त्रणमा लिएको डीएसपी कटुवालले जानकारी दिए । बरामद गरिएको ८ बोरा बिडी दुई लाख रुपैयाँ मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको उनले बताए । दुवै अटो कालो प्लेट नम्बर (भाडामा प्रयोग) हुने साधन भएकोले एक पटकलाई चेतावनी दिएर छाडिदिएको उनको भनाई छ ।

उता सशस्त्र प्रहरीको बिओपी केचनाले भारतबाट नेपाल भित्र्याइएको अवैध माछा बरामद गरेको छ । बिओपी केचनाका सशस्त्र प्रहरी नायव निरीक्षक भरतलाल धमला नेतृत्वको पैदल गस्ती टोलीले सोमबार बिहान साढे ७ बजेको समयमा विभिन्न जातका ४० केजी माछा बरामद गरेको जनाइएको छ । बरामद गरिएको माछा नष्ट गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्