झापा,भदौ२१। देशकै पहिलो ‘टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भएको छ ।

विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र प्रदेश सरकारको लागानीमा कन्याममा ‘टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा सुरु भएको टी टेस्टिङ् सेन्टरसहितको अनुसन्धान केन्द्रको निर्माण १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिए । उक्त टी टेस्टिङ सेन्टर सहितको अनुसन्धान केन्द्र निर्माणका लागि प्रदेश सरकार र सूर्योदय नगरपालिकाले लगानी गरेका थिए ।

इन्जिनियर सुवेदीका अनुसार दुई चरणमा गरेर निर्माण सम्पन्न भएको हो । पहिलो चरणमा आर्थिक वर्ष २०७६/०७७ मा भवन निर्माणको काम आशिष — आशीर्वाद जे.भीले ठेक्का लिएको थियो । दोस्रो चरणमा भित्री डिजाइनसहितको काम सूर्योदय—फाल्गुनन्द जेभीले ठेक्का सम्झौता गरेको थियो । सुवेदीका अनुसार अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी रहेकाले उक्त काम सक्नका लागि ठेक्का प्रक्रियामा छ ।

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०/०८१ मै टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए । उनले भने, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।” सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताए ।

उनले देशमै पहिलो पटक टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको बताए । नगरप्रमुख राईले उक्त स्थानमा चिया सङ्ग्राहलय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेष्टहाउस र सभाहल रहेको जानकारी दिए । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालन गर्ने भएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्