एजेन्सी । एसिया कपको सुपर–४ चरणको खेलमा पाकिस्तानले भारतसँग ठूलो पराजय बेहोरेको छ । गएरातिको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको हो ।

वर्षाका कारण आइतबार रोकिएर हिजो पुनः सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरू एकपछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए । भारतीय बलरहरूसामु पाकिस्तानी ब्याटर जम्न सकेनन् ।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो । त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३÷२३ रन बनाए । कप्तान बाबर आजम भने १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका नसिम साह र हरिस राउफले भने चोटका कारण ब्याटिङ गरेनन् । शाहीन शाह अफ्रिदी ७ रनमा नटआउट रहे ।

१७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप २ विकेट गुमाउन पुग्यो । आइतबार वर्षाले खेल रोकिएपछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो ।
भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १÷१ विकेट लिए ।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो । भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १२२ रन बनाए ।

कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए । त्यस्तै केएल राहुलले १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा १११ रन बनाए । आइतबार वर्षाले खेल रोकिँदा भारत २४.१ ओभरमा १४७÷२ को अवस्थामा थियो । त्यसपछि राहुल र कोहलीले शानदार साझेदारी गर्दै पाकिस्तानविरुद्ध ऐतिहासिक चुनौती खडा गरेका हुन् ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र शादाब खानले १÷१ विकेट लिए । यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए ।

भारतले पाकिस्तानविरुद्ध एकदिवसीय क्रिकेटमा सोमबार सबैभन्दा बढी लक्ष्य दिएको हो । यसअघि सन् २००५ मा विशाखापटनममा भएको खेलमा भारतले ९ विकेट गुमाउँदै पाकिस्तानविरुद्ध ३५६ रन नै बनाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्