झापा, भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ ।

नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले नेम्वाङको निधनले मर्माहत बनाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानसभा अध्यक्ष नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री दाहालले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री दाहालले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले लेखेका छन् ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

त्यस्तै नेपाली कांग्रेसका सभापति देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन्।
‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्।
आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर अध्यक्ष नेपालले स्व.नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। उपाध्यक्ष नेम्वाङको निधनको खबर पाएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन्। भट्टराईले ट्विटमार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको बताएका हुन् ।
उनले भने,‘आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठुलो क्षति व्यहोरेको छ । मैले आत्मीय मित्र गुमाएको छु।’ उनले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गरेका छन्।

हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पु¥याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेम्वाङको पार्थीव शरीर आज मंगलबार दिनभर पार्टी कार्यालयमा राखिने र भोलि बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांंसद हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्