झापा, असोज १ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज । हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि ब्रत बसेर मनाउँदैछन्।

पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ। अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को ब्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।

यसैबीच तीजमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवानासमेत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवम् भिडियो खिच्न मनाही गरिँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्