झापा,असोज १ । बिर्तामोड– ९ नडियावारीस्थित कालीमाता मठमन्दिरमा आयोजित तीज कार्यक्रममा गन्धर्व कलाकारहरुले सारंगी र मादलको धुनमा गीत गाइरहँदा सबैको मन छोयो ।

‘घुमिफिरी चाड आउँछ , माइतीघरको याद आउँछ’बोलको गीत गन्धर्व कलाकारहरुले गाउँदा माइत जान नपाएका महिलाहरुको आँखा रसायो । कालीमाता मठमन्दिर व्यवस्थापन समिति,आदर्श नवयुवा क्लब,आदर्श कीर्तन मण्डली,आशीर्वाद कीर्तन मण्डली र हरिहर कीर्तन मण्डलीले संयुक्त रुपमा तीज कार्यक्रम गरी कार्यक्रममा ख्यातिप्राप्त गन्धर्व कलाकारहरुलाई बोलाएका थिए । कार्यक्रममा न डगी नाच थियो न उत्ताउलो खालको गीत नै । पुरानो गीतको भाकामा महिलाहरु नाचिरहेका थिए । कार्यक्रममा पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्व , गन्धर्व संगीत संजालका उपाध्यक्ष श्याम गन्धर्व , संजालकै लालबहादुर गन्धर्व , सुजन गन्धर्व र तारा गन्धर्वले ‘घुमिफिरी चाड आउँछ , माइतीघरको याद आउँछ’ ,‘तीजको लहर आयो बैरी लै’, ‘माइती किन हुँदैछ टाढा’जस्ता गीत गाएका थिए ।

महिलाहरुको कथा व्यथा समेटिएको मौलिक गीत गन्धर्वहरुले गाइरहँदा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई पनि गीत गाउन मन लाग्यो । उनले ‘तीजको बेलामा सबै जान्छन् माइत,आफ्नो माइती मुग्लान पारि छैन साइत’बोलको जनवादी गीत गाएर मनोरंजन प्रदान गरे । तीज पर्व विकृत बन्दै गइरहेकाले मौलिक सांस्कृतिक सम्पदालाई संरक्षण गर्न यस किसिमको कार्यक्रम अपरिहार्य भएको उपप्रमुख संग्रौलाले बताए । उनले हिन्दु धर्मावलम्बीहरुले आफ्नो संस्कार संस्कृति छोड्दै गएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि बिर्तामोड– ९ का कार्यबाहक वडा अध्यक्ष केशव बुढाथोकीले पनि तीज पर्वमा महिलाहरुले भित्र्याएको विकृतिले संस्कार संस्कृतिको महत्व घटेको बताए ।

कालीमाता मठमन्दिर ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रविन बुढाथोकीको अध्यक्षतामा भएको तीज बिशेष कार्यक्रममा स्वागत मन्तव्य मन्दिर समितिका सल्लाहकार तथा आदर्श नवयुवा क्लवका संस्थापक अध्यक्ष काजी बुढाथोकीले गरेका थिए ।

आदर्श कीर्तन मण्डलीकी अध्यक्ष अम्बिका कटुवाललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका सल्लाहकार सदस्य दीपक पाण्डे , खप्तडी बुढाथोकी क्षेत्री समाज झापाका अध्यक्ष योगेन्द्र बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मन्दिर ब्यवस्थापन समितिका सचिव जगत कटुवालले गरेका थिए । कालीमाता मठमन्दिर ब्यवस्थापन समितिले विगत ७ बर्षदेखि निरन्तर रुपमा तीज मिलन कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्