झापा, असोज १३ । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको छ।
आइतबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धको भाउ बढाएको हो।

निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ।त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको छ।
हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रतिलिटर करिब ८ रूपैयाँ) बढाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्