झापा, असोज १६ । बझाङमा भूकम्पमा परी आठ जना घाइते भएका छन् ।

भूकम्पमा घाइते भएकाहरु उपचार गराउन जिल्ला अस्पताल पुग्न थालेका छन्। हालसम्म ८ जना घाइते उपचार गराउन अस्पताल आएको बझाङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीले बताए। उनले ८ जनामध्ये एक जनाको खुट्टामा ठूलो चोट लागेको र अन्य सामान्य घाइते रहेको बताए।
हाल घाइते सबैको अस्पतालमा उपचार भइरहेको सुपरिटेन्डेन्ट डा. जोशीले बताए। घाइते हुनेहरुमा १८ वर्षीया सुनिता रोकाया, ३ वर्षीया निकिता बोहरा, ७ वर्षीया सलिना जोशी, १६ वर्षीया अलिस बम, प्रमिला जोशी, १३ वर्षीया सविता रोकाया र ३६ वर्षीया शान्तिदेवी थापा रहेका छन्।

यसअघि दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालेर डा. जोशीकै टोलीले सामान्य प्रसव गराएको थियो ।
यसरी भूकम्पपछि अस्पतालको प्रांगणमा प्रसव गराइएकी महिला र नवजात शिशु दुवैको स्वास्थ्य अहिले सामान्य रहेको समेत डा. जोशीले बताए।
यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको स्थानीय दीपक जोशीले बताए ।

भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति भएको र जिल्लाभर अरु ठाउँमा पनि थुप्रै क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिपेश चौधरीले बताए । ‘अहिलेसम्म मानवीय क्षतिको जानकारी छैन । तर थुप्रै संरचना भत्किएको अनुमान छ । हामी विवरण संकलन गर्दैछौँ,’ उनले भने ।
बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । ठूलो भूकम्पपछि पनि लगातार परकम्पहरू गइरहेको हुनाले खुला ठाउँमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन तामाङको सुझाव छ ।
पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुल्ला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ ।

बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्काका कारण जिल्ला अस्पतालमा भएका बिरामीहरूलाई पनि बाहिर निकालिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्