बिर्तामोड, असोज १७ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मेघाबारी टोलमा निर्माण हुने कर्मयोग भवनका लागि बिर्तामोड ३ निवासी समाजसेवी नन्दकुमार बस्नेतले दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

स्वर्गीय श्रीमती कृष्णमाया बस्नेतको स्मृतिमा कर्मयोग भवनलाई १ धुर जमिन खरिद गर्न उक्त रकम सहयोग गरेका हुन् ।
कृष्णमायाको ६ महिनाअघि क्यानडामा रहेका छोराबुहारी भेट्न जाने क्रममा क्यानडाको एयरपोर्टमा मृत्यु भएको थियो ।
बस्नेतले मानिसले मरेर जाँदा केहि नलाने तर कृति आजीवन रहने भएकाले कर्मयोग भवनका लागि सहयोग गरेको बताए । बस्नेतलाई कर्मयोग भवन निर्माणको अगुवाई गरिरहेको सिद्धिविनायक भजन कीर्तन मण्डलीले सम्मान गरेको छ । बुधबार विहान सिद्धिविनायक मन्दिर परिसरमा प्रशंसापत्र र दोसल्लाले बस्नेतलाई सम्मान गरिएको थियो । कीर्तन मण्डलीकी अध्यक्ष गीता पोखरेल, संयोजक भीमा शिवाकोटी र स्थानीयबासीले बस्नेतलाई सम्मान गरेका थिए ।

गत फागुनमा लगाइएको पुराणबाट संकलित रकमबाट १३ धुर जग्गा बहुउद्धेश्यीय सामुदायिक भवनका लागि खरिद गरिएको र बाँकी रकमबाट कर्मयोग भवन निर्माणका लागि सवा १६ धुर जमिन बैना गरिएको शिवाकोटीले बताइन् । उनका अनुसार उक्त जग्गा पास गर्न करिब ३० लाख रुपैयाँ रकम अपुग छ । भवनको भौतिक संरचना निर्माणका लागि तीनै तहका सरकारबाट सहयोग हुने भएपनि जग्गा खरिद दाताहरुकै सहयोगमा गर्नु पर्ने भएकाले जग्गा खरिदका लागि सहयोग गरिदिन दाताहरुलाई संयोजक शिवाकोटीले आग्रह गरिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्